‘गौँथली’ ट्रेलरको चर्चा : भावनात्मक कथाले तान्यो दर्शकको ध्यान

काठमाडौँ । साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको चार दिनमै युट्युबको चलचित्रतर्फको ट्रेन्डिङ सूचीमा दोस्रो स्थानमा पुगेको छ। ट्रेलरले सामाजिक सञ्जालमा पनि दर्शकको ध्यान तानेको छ।

ट्रेलरमा अटिजम भएका युवक र उनको वैवाहिक जीवनको संघर्षलाई केन्द्रमा राखिएको छ। अरुण क्षेत्री र सिम्रन खड्काको अभिनयलाई धेरै दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। ट्रेलरको भावनात्मक प्रस्तुतिले आफूहरूलाई छोएको भन्दै कतिपयले युट्युबमै प्रतिक्रिया जनाएका छन्। केहीले फिल्म सफल हुने अपेक्षा पनि व्यक्त गरेका छन्।

डा. कपिल रिजाल निर्देशित फिल्ममा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन्।

डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले लेखेका हुन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् भने कार्यकारी निर्माता सरला रिजाल हुन्। फिल्ममा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ। रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्ने फिल्म साउन १ गतेदेखि प्रदर्शनमा आउनेछ।

यसअघि डा. भोला रिजालले निर्माण गरेको ‘गौँथली’लाई नेपालको पहिलो ‘गीति फिल्म’का रूपमा चिनिन्छ। सोही शीर्षकमा बनेको नयाँ संस्करणलाई उनका छोरा डा. कपिल रिजालले निर्देशन गरेका हुन्।

Leave a Reply