राष्ट्रपति भवनमा राष्ट्रिय चलचित्र पुरस्कार वितरण

काठमाडौं। राष्ट्रिय चलचित्र पुरस्कार २०८२ अन्तर्गत व्यक्ति तथा चलचित्रतर्फ विभिन्न आठ विधामा पुरस्कार प्रदान गरिएको छ। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार तथा सम्मान प्रदान गरे।

निर्देशक नवीन चौहानको फिल्म ‘ऊनको स्वीटर’ यस वर्षको उत्कृष्ट चलचित्र घोषित भएको छ। यही फिल्मका लागि नवीन चौहान उत्कृष्ट निर्देशक र मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भए।

उत्कृष्ट अभिनेताको पुरस्कार फिल्म ‘परान’का लागि वरिष्ठ अभिनेता नीर शाहले प्राप्त गरे। उत्कृष्ट पटकथातर्फ पनि ‘परान’ नै पुरस्कृत भयो। फिल्मका पटकथाकार यम थापा र दीपक आचार्यले उक्त पुरस्कार प्राप्त गरेका हुन्।

 

फिल्म ‘कोशेढुंगा’ले उत्कृष्ट छायांकनको पुरस्कार जित्यो भने यही फिल्मका नहकुल खड्काले उत्कृष्ट सम्पादनको पुरस्कार पाए।

समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान प्रदान गरियो। सम्मानसँगै उनलाई तीन लाख ७५ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो।

जुरी प्रोत्साहन पुरस्कारतर्फ ‘रमिताको पिरती’बाट आना शर्मा र ‘झरीपछिको इन्द्रेणी’बाट बिमोचन दवाडी पुरस्कृत भए।

चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका ११ जनालाई विशेष योगदान सम्मान प्रदान गरिएको छ। सम्मानित हुनेमा प्रदर्शक विष्णुगोपाल श्रेष्ठ, प्रदर्शक डा. सिंह गुरुङ, अभिनेत्री मेनुका प्रधान, निर्देशक अविनाश विक्रम शाह, अभिनेता रोहित रुम्बा, सञ्चारकर्मी प्रकाश सुवेदी, अभिनेत्री तथा खेलाडी एन्जिला तुम्बापो सुब्बा, अभिनेत्री लक्ष्मी बर्देवा, निर्माता विनोद शेरचन, प्राविधिक शंकर पाण्डे तथा पत्रकार दिनेश सिटौला (मरणोपरान्त) छन्।

लिम्बु भाषाको फिल्म ‘नामछोङ’ विशेष चलचित्र पुरस्कारबाट सम्मानित भएको छ भने उत्कृष्ट आदिवासी चलचित्रको पुरस्कार नेवारी भाषाको ‘इन्दिरा धिमे माइचा’ले प्राप्त गरेको छ।

पुरस्कारका लागि गठित निर्णायक मण्डलको संयोजक वरिष्ठ अभिनेता हरिहर शर्मा थिए। सदस्यमा निर्देशक मिलन चाम्स, वरिष्ठ प्राविधिक अरुण थापा, अभिनेत्री सरिता गिरी तथा संस्कृतिविद् एवं प्राध्यापक अरुण गुप्ता रहेका थिए।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पुरस्कारले सर्जकलाई थप जिम्मेवार र सिर्जनशील बनाउने बताए। चलचित्र मनोरञ्जनको माध्यम मात्र नभई मौलिक संस्कृति संरक्षणको महत्वपूर्ण साधन भएको उनको भनाइ थियो।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कुनै देशको संस्कृति र पहिचान बुझ्न त्यहाँका चलचित्र महत्त्वपूर्ण माध्यम हुने बताए। ‘राजनीतिले विभाजन ल्याउन सक्छ, तर कलाकारको सिर्जनाले समाजलाई जोड्छ,’ उनले भने।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्रले अब सांस्कृतिक योगदानसँगै आर्थिक योगदान पनि दिन थालेको बताए। उनले संसद्मा विचाराधीन चलचित्र विधेयकमा वैदेशिक लगानीसम्बन्धी व्यवस्था समेटिने जानकारी दिँदै आगामी वर्षदेखि राष्ट्रिय चलचित्र पुरस्कारमा ‘उदीयमान कलाकार’ र ‘साउन्ड डिजाइनर’ गरी दुई नयाँ विधा थपिने बताए।

Leave a Reply