काठमाडौं । अभिनेता जितु नेपालले निर्माण गरेको फिल्म ‘आइ एम जीतबहादुर’को शीर्ष गीत सार्वजनिक गरिएको छ । मंगलबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको गीतमा भारतीय गायक कैलाश खेरको स्वर रहेको छ ।
गीतमा जितु नेपाल र राज सिंह सिधुको शब्द तथा बब एसएनको संगीत रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर आएका एक युवाको संघर्षलाई मोन्टाज शैलीमा प्रस्तुत गरिएको छ । भिडियोमा जितु नेपालसँगै वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाललगायत कलाकारलाई पनि देख्न सकिन्छ ।
आगामी असार ५ गते प्रदर्शनमा आउने फिल्म ‘आइ एम जीतबहादुर’लाई भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेका हुन् । यसअघि सार्वजनिक टिजरले पनि राम्रो चर्चा बटुलेको थियो ।
फिल्ममा पवन खतिवडा, सारा शर्मा, अंशु महर्जन, राजन सिंखडा, निरज नेपाल र रोहित कार्कीलगायत कलाकारको अभिनय रहेको छ ।
कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन् । भारतीय छायांकार अरविन्दको छायांकन रहेको फिल्मको सम्पूर्ण पोस्ट–प्रोडक्सनको काम भारतमै गरिएको निर्माण टिमले जनाएको छ।
News Filmy Newsportal / Nepal