काठमाडौं । आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लालीबजार’को तेस्रो गीत ‘मै राम्री छु त नी’ को सानो अंश सार्वजनिक गरिएको छ । निर्माण कम्पनी षट्कोण आर्ट्सले आफ्नो युट्युब च्यानलमार्फत गीतको झलक सार्वजनिक गरेको हो ।
गीतमा दीपिका बयम्बू मगरको स्वर रहेको छ भने कोरस भोकलमा रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको स्वर समावेश छ । गीतमा प्रकाश सपुतको शब्द र संगीत रहेको छ ।
सार्वजनिक अंशमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ, जानकी कडायत लगायत फिचर्ड छन् । गीतको कोरियोग्राफी प्रदीप लामाले गरेका हुन् ।
गीतमा नारी सुन्दरताको बयान गरिएको छ भने स्वस्तिमा खड्का केन्द्रमा देखिएकी छन् । सार्वजनिक क्लिपलाई टिकटक, फेसबुक रील्स र युट्युब शर्ट्समा समेत प्रयोग गर्न थालिएको छ ।
गीतको पूर्ण संस्करण फिल्मसँगै वैशाख १८ गतेदेखि हलमा हेर्न पाइने निर्माण पक्षले जनाएको छ ।
यसअघि सार्वजनिक भएको फिल्मको ट्रेलरलाई दर्शक तथा सेलिब्रेटीले राम्रो प्रतिक्रिया दिएका छन् । युट्युबमा ट्रेलर मुभी चार्टतर्फ नम्बर २ मा ट्रेन्डिङमा रहेको छ ।
फिल्म आमा–छोरीको कथामा आधारित छ र बादी समुदायमा रहेको नाथिया जस्तो कुप्रथालाई पनि उठान गरिएको छ । स्वस्तिमा खड्का फिल्ममा आमाको भूमिकामा देखिएकी छन् ।
षट्कोण आर्ट्सले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ । ‘लालीबजार’ भने यम थापाको निर्देशनमा बनेको हो भने कथा तथा पटकथा यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् ।
फिल्ममा विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् । स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको फिल्म बर्दियाको राजापुरमा छायांकन गरिएको हो ।
निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्र सिंह बानियाँ रहेका छन् भने कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् । फिल्ममा प्रकाश सपुत, खेम सेन्चुरी र जयन जे वाइबाको संगीत रहेको छ ।
News Filmy Newsportal / Nepal