काठमाडौं । फिल्म ‘जूबा’को छायांकन सर्लाहीबाट सुरु भएको छ । अस्त्र फिल्म्सको प्रस्तुति रहेको फिल्म बुधबार शुभमुहूर्त गर्दै औपचारिक रूपमा छायांकनमा गएको हो ।
फिल्मको छायांकन ७ दिनको सेड्युलसहित सुरु गरिएको हो भने सर्लाहीसँगै काठमाडौं र भारतको राजस्थानमा पनि सुटिङ हुने निर्माण पक्षले जनाएको छ । कुल ७५ दिनको छायांकन तालिकासहित निर्माण अघि बढाइएकाले फिल्मलाई ठूलो क्यानभासमा निर्माण गरिँदैछ भन्ने संकेत मिल्छ ।
मुख्य भूमिकामा सौगात मल्ल रहेका छन् । फिल्मको लेखन तथा निर्देशन प्रकाश कर्णले गरेका हुन् भने स्क्रिनप्ले र लेखन वर्षा पौडेलको रहेको छ । क्रिएटिभ प्रोड्युसरको जिम्मेवारी पनि निर्देशक कर्ण र लेखिका पौडेलले संयुक्त रूपमा सम्हालेका छन् ।
फिल्ममा सोफी धरेलले अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन् । उनीसँगै सौगात मल्ल र सुधन पोखरेल मुख्य भूमिकामा छन् । सुधनको यो तेस्रो फिल्म भए पनि मुख्य भूमिकामा भने यो पहिलो हो ।
रक क्यासल स्टुडियोको निर्माणमा तयार भइरहेको फिल्मको घोषणा सँगै तीनवटा क्यारेक्टर पोस्टर सार्वजनिक गरिएका थिए, जसले कथावस्तु र पात्रको लुक्सबारे प्रारम्भिक संकेत दिएको थियो ।
निर्माण पक्षले अन्य कलाकार तथा विस्तृत कथावस्तुबारे भने हालसम्म सार्वजनिक गरेको छैन ।
News Filmy Newsportal / Nepal