ऐतिहासिक ‘जय नेपाल’ सिनेमा हल पुनः सञ्चालनको तयारीमा

काठमाडौं । मुलुकको पुरानो तथा ऐतिहासिक सिनेमा हलमध्ये एक ‘जय नेपाल सिनेमा हल’ पुनः सञ्चालनमा आउने तयारी अघि बढेको छ । लामो समयदेखि बन्द रहेको उक्त हलले मंगलबार चलचित्र विकास बोर्डबाट सञ्चालन अनुमतिपत्र प्राप्त गरेको हो ।

२०२७ सालदेखि सम्बन्धित मन्त्रालयमार्फत नवीकरण हुँदै आएको यो हल काठमाडौंको सिनेमा संस्कृति र दर्शकको स्मृतिसँग गहिरो रूपमा जोडिएको नाम हो । दरबारमार्ग क्षेत्रसँग रहेको यस हलले दशकौँसम्म नेपाली, हिन्दी तथा अंग्रेजी फिल्म प्रदर्शन गर्दै राजधानीको फिल्म इतिहासमा छुट्टै पहिचान बनाएको थियो ।

कोभिड–१९ महामारीपछि उत्पन्न परिस्थितिका कारण २०७८ असोज ४ गतेदेखि बन्द रहेको हल अब पुनः सञ्चालनमा आउने तयारीमा छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले सञ्चालकमध्येका एक गोपालकाजी कायस्थलाई सञ्चालन अनुमतिपत्र प्रदान गरेका हुन् ।

आवश्यक प्रक्रिया पूरा भएसँगै ‘जय नेपाल’ हल पुनः सञ्चालनको बाटो खुलेको छ । आधुनिक व्यवस्थापन र आवश्यक मापदण्डसहित सञ्चालनमा आउन लागेको यो हल नेपाली फिल्म प्रदर्शन क्षेत्रका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

यसले काठमाडौंको सिनेमा संस्कृतिलाई पुनर्जीवित गर्न, दर्शकलाई थप विकल्प दिन र प्रदर्शन बजारलाई थप सक्रिय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चलचित्र विकास बोर्डका अनुसार हाल देशभर १७० भन्दा बढी सिनेमा हल सञ्चालनमा छन् । चालु आर्थिक वर्षभित्र यो संख्या २०० भन्दा माथि पुर्‍याउने लक्ष्य राखिएको छ ।

Leave a Reply