काठमाडौं । फिल्म ‘एक मुठ्ठी बादल’का सबैभन्दा कान्छा सदस्य अविरल प्रताप अधिकारी सुटिङ युनिटमै पनि सबैभन्दा साना सदस्यका रूपमा रहेका थिए । तर, उनी यो फिल्मका लागि सबैभन्दा पहिले अडिसन दिने कलाकार भने हुन् ।
फिल्मको पटकथा तयार गर्नै करिब ६–७ वर्ष लागेको निर्माण टिमले यसै क्रममा भाइको भूमिकाका लागि अविरलको अडिसन लिएको थियो । अविरलका अनुसार उनले १७ वर्षको उमेरमा कुनै अनुभवबिना दुई पृष्ठको दृश्य अभिनय गरेर पठाएका थिए । “निर्देशक सहारा शर्माले पछि खबर गर्छौँ भन्नुभएको थियो, तर पाँच वर्षपछि मात्रै अवसर मिल्यो,” उनले सम्झिए ।
अडिसनबाट छानिएको क्षणलाई उनी जीवनकै अविस्मरणीय अनुभव मान्छन् । यही फिल्ममार्फत उनले पहिलोपटक हवाई यात्रा गर्ने अवसरसमेत पाए । “पोखरा सुटिङका लागि जाँदा पहिलोपटक प्लेन चढेँ, निकै रोमाञ्चक अनुभव थियो,” उनले भने । सुटिङ सकिएको दिन भावुक भएर रोएको अनुभव पनि उनले सुनाए ।
अविरल कलाकारिताको पृष्ठभूमिबाट आएका हुन् । उनका हजुरबा चर्चित कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारी हुन् भने बुबा कार्यक्रम निर्देशक तथा कमेन्टेटर अमनप्रताप अधिकारी हुन् । यही पारिवारिक विरासत पछ्याउँदै उनले नाटक हुँदै फिल्ममा प्रवेश गरेका हुन् ।
फिल्ममा उनी घरको एक्लो छोरा र दिदीहरूको माया पाउने भाइको भूमिकामा देखिएका छन् । वास्तविक जीवनभन्दा फिल्मको पात्र फरक भए पनि दिदी–भाइको सम्बन्ध बुझ्न आफूलाई सहज भएको उनले बताए ।
उनका अनुसार फिल्मका पात्रहरू दर्शकका आफ्नै परिवारसँग मेल खाने खालका छन् । “यसको कथा हेर्दा नेपालका हरेक परिवारको झल्को पाइन्छ,” उनले भने ।
सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको ‘एक मुठ्ठी बादल’ आगामी जेठ १ गतेदेखि प्रदर्शनमा आउनेछ । फिल्ममा निशा शर्मा, आँचल शर्मा, उषा रजक, शेखर चापागाईँ, मनिष निरौला, गौरव बिष्ट, सहयोग राज अधिकारी, भिमा मैनाली र अस्मिता गौतमलगायत कलाकारको अभिनय रहेको छ ।
News Filmy Newsportal / Nepal