काठमाडौँ । निर्माणको चरणमा रहेको फिल्म ‘महाराजधिराज’मा ‘महारानी’ पात्र थपिएको छ । उक्त भूमिकामा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी हुन् ।
फिल्मका प्रस्तुतकर्ता विराज विष्टले केकीको स्वागत गर्दै भनेका छन्, “महाराजधिराजकी महारानीलाई सु–स्वागतम् । यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु ।”
तीन दिनअघि आफ्नै फिल्म ‘स्टेशन’ घोषणा गरेकी केकी अब ‘महाराजधिराज’मा आबद्ध भएकी हुन् । उनको प्रवेशसँगै फिल्मको कलाकार सूची थप बलियो बनेको निर्माण पक्षको दाबी छ ।
यसअघि फिल्मको मुख्य भूमिकामा अभिनेता पुष्प खड्का अनुबन्धित भइसकेका छन् । नयाँ वर्षको अवसर पारेर निर्माण टिमले उनलाई मुख्य भूमिकामा सार्वजनिक गर्दै पोस्टरसमेत सार्वजनिक गरेको थियो ।
लामो समयदेखि ‘महाराजधिराज’मा राजाको भूमिकामा को देखिने भन्ने कौतुहलता अन्त्य गर्दै निर्माण पक्षले पुष्पको नाम सार्वजनिक गरेको हो । फिल्ममा अनुबन्ध हुँदा पुष्पले आफ्नै औंला काटेर रगतको औंठाछाप लगाएको प्रसंगले पनि चर्चा पाएको थियो ।
फिल्मको पोस्टरले थ्रिलर तथा पिरियड ड्रामाको झल्को दिने संकेत गरेको छ । आगामी वैशाख दोस्रो सातापछि छायांकनमा जाने तयारी गरिएको छ ।
निर्देशक परिच्छेद सेनको निर्देशनमा बन्ने फिल्ममा पुष्प खड्कासँगै नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, केकी अधिकारी, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कलाकारहरूको अभिनय रहनेछ ।
निर्देशक सेनको ड्रिम प्रोजेक्ट मानिएको ‘महाराजधिराज’मा करिब ८० कलाकारको सहभागिता रहने जनाइएको छ । पुराना र नयाँ पुस्ताका कलाकारको मिश्रण प्रस्तुत गर्ने तयारी निर्माण टिमको छ ।
प्रस्तुतकर्ता विष्टले बलियो कलाकार लाइनअपअनुसार फिल्म पनि सशक्त बन्ने विश्वास व्यक्त गरेका छन् ।
फिल्मको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुने जनाइएको छ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक स्थानमा छायांकन गरिनेछ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक सेनकै लेखन रहेको छ । निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन् ।
फिल्म आगामी बडादशैंअन्तर्गत फूलपातीको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमले लिएको छ ।
News Filmy Newsportal / Nepal