काठमाडौं । निर्देशक अशोक शर्माको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘डबल ट्रिपल’को छायांकन यतिबेला पूर्वी नेपालको झापामा जारी छ। निर्माण टिमका अनुसार फिल्मको छायांकन एक साताभित्र सम्पन्न गर्ने तयारी गरिएको छ।
छायांकन सेटबाट हालै सार्वजनिक भएका केही ताजा तस्वीरहरूले फिल्मका मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स पनि सार्वजनिक गरेका छन्। सार्वजनिक तस्वीरअनुसार अभिनेत्री मिरुना मगर नेपाल प्रहरीको भूमिकामा देखिएकी छन्।
त्यसैगरी, अभिनेता खगेन्द्र लामिछाने ‘डन’को भूमिकामा प्रस्तुत हुने भएका छन्। सेटमा अभिनेता दयाहाङ राई र राजाराम पौड्याल पनि देखिएका छन्, जसले फिल्मप्रति दर्शकको उत्सुकता अझ बढाएको छ।
निर्देशक शर्माका अनुसार फिल्मको छायांकन अब केही दिनमै सकिनेछ। फिल्मलाई आगामी दशैं वा तिहारको अवसर पारेर प्रदर्शन गर्ने चर्चा भए पनि यसको औपचारिक घोषणा भने भइसकेको छैन।
News Filmy Newsportal / Nepal

