जीवन शर्माको संगीतमा ‘जीवन रहरमै’ सार्वजनिक

काठमाडौं । सिक्किमका स्रष्टा जीवन शर्माको संगीतमा तयार भएको नयाँ गीत ‘जीवन रहरमै’ बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। साहित्य, संगीत र सिर्जनशीलताको संगम बनेको उक्त कार्यक्रमले नेपाल–सिक्किमबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

सिक्किमकै स्रष्टा विमल काफ्लेको शब्द रहेको उक्त गीतमा चर्चित गायिका अञ्जु पन्तको स्वर रहेको छ। गीतले जीवनका आकांक्षा, अनुभूति र भावनात्मक यात्रालाई कलात्मक ढंगले प्रस्तुत गरेको आयोजकले जनाएका छन्।

मिलाप मासिक र साहित्यिक पत्रकार संघको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्रष्टा शर्मालाई सामूहिक अभिनन्दनसमेत गरिएको थियो। संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मिलापका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य व्यक्त गरे। प्रमुख अतिथिका रूपमा वरिष्ठ गीतकार चूडामणि देवकोटा रहेका थिए।

कार्यक्रममा तारेकेश्वर कला प्रतिष्ठान, डिआर म्युजिक क्रियशन र युथ क्रियशनलगायत संस्थाहरूले पनि स्रष्टा शर्मालाई सम्मान गरेका थिए। उहाँलाई प्रमुख अतिथि, सभापति तथा महाकाव्यकार खेमनाथ दाहाल, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ कलाकार उत्तम केसी, रमेश थापा, निर्देशक रामशरण कोइराला, लव प्याकुरेललगायतले फूल, माला, दोसल्ला र ताम्रपत्रद्वारा सम्मान गरेका थिए।

कार्यक्रमको सहजीकरण गणेश सुवेदीले गरेका थिए। कार्यक्रममा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, प्रा.डा. गोविन्दमान सिंह कार्की, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ समालोचक प्रमोद प्रधान, महाकाव्यकार खेमनाथ दाहाल, वरिष्ठ कलाकार उत्तम केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

समारोहमा स्रष्टा जीवन शर्माले सानैदेखि संगीतप्रतिको लगाव रहेको उल्लेख गर्दै नेपालमा प्राप्त सम्मानले थप जिम्मेवारी थपिएको बताए। उनलाई काठमाडौंमा बुधबार सगरमाथा म्युजिक अवार्डसमेत प्रदान गरिएको थियो।

समापन मन्तव्यमा सभापति राधेश्याम लेकालीले नेपाल र सिक्किमबीचको साहित्यिक आदान–प्रदानको महत्वलाई उजागर गर्दै यस्ता कार्यक्रमले सिर्जनशील सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

स्रष्टा जीवन शर्माका ४० भन्दा बढी गीत सार्वजनिक भइसकेका छन् भने उनका केही उपन्याससमेत पाठकमाझ आइसकेका छन्। कार्यक्रममा साहित्यकार, कलाकार तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply