काठमाडौं । टिकटकमार्फत लोकप्रियता कमाएका आयुष सिंह ठकुरी अब नेपाली फिल्म क्षेत्रमा औपचारिक रूपमा प्रवेश गर्दैछन्। माइकल चन्दको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘राम नाम सत्य’बाट उनले डेब्यू गर्न लागेका हुन्। फिल्म यही चैत २७ गते (शुक्रबार)देखि देशभर प्रदर्शनमा आउँदैछ।
रिलिज नजिकिँदै गर्दा आयुष मिडियासँगको अन्तरक्रियामा सक्रिय देखिएका छन्। उनले फिल्मप्रति आफू निकै उत्साहित रहेको बताए।‘यो फिल्मको कथावस्तु मन परेकै कारण काम गर्न तयार भएको हुँ,’ आयुषले भने, ‘मलाई अन्य फिल्मका प्रस्ताव नआएका होइनन्। तर, राम नाम सत्यको कथाले तान्यो।’
फिल्ममा आफ्नो भूमिका दर्शकका लागि ‘सरप्राइज’ हुने उनको दाबी छ। ‘ट्रेलरमा मैले बोलेको एउटा संवाद छ। ट्रेलर हेर्दा मेरो परिवारले पनि आवाज चिन्नु भएन। पछि मैले नै भनेपछि सबै छक्क पर्नुभयो,’ उनले भने, ‘फिल्मका लागि निकै मेहनत गरेको छु।’
फिल्मको व्यापारबारे भने उनले अहिले नै नसोचेको बताए। ‘पहिलो प्राथमिकता दर्शकले मेरो काम मन पराउनु हो,’ उनले भने।टिकटकमा लाखौं फलोअर्स रहेका आयुषलाई ती दर्शक हलसम्म तान्ने चुनौती छ। यसबारे उनले भने, ‘विदेशमा रहेका नेपालीहरूले नेपालमा रहेका आफन्तका लागि टिकट किनिदिने र हल बुक गर्ने भन्नुभएको छ। दर्शकमा उत्साह देखेको छु।’
उनले फिल्मको सिक्वेल पनि बन्ने जानकारी दिए। ‘राम नाम सत्यको सिक्वेल बन्नेछ। त्यसमा मेरो भूमिका कस्तो हुन्छ भन्ने बुझ्न पनि पहिलो भाग हेर्नैपर्छ,’ उनले भने।
आयुषले फिल्मका लागि आफूले शतप्रतिशत मेहनत गरेको बताए। ‘कथावस्तु बलियो छ, सस्पेन्स–थ्रिलर शैली रोचक छ। फिल्मले सबै कोणबाट मनोरञ्जन दिन्छ,’ उनले भने।
आगामी दिनमा फिल्म क्षेत्रमा निरन्तर सक्रिय रहने संकेत पनि उनले गरेका छन्। ‘अझै धेरै सिक्न र आफूलाई तयार पार्न बाँकी छ। हतारमा काम लिने छैन, तर अब निरन्तर यही क्षेत्रमा अघि बढ्छु,’ उनले भने।
उपेन्द्र शाही र स्वेता विमलीको निर्माणमा बनेको फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार र खुशी कार्की लगायत कलाकारको अभिनय रहेको छ।
नयाँ वर्षको अवसर पारेर सोलो रिलिजमा आउन लागेको फिल्मले ‘बम्पर ओपनिङ’ गर्ने वितरकहरूको अनुमान छ।
News Filmy Newsportal / Nepal