काठमाडौं । जनक घर्ती मगरको निर्माणमा बनेको फिल्म ‘मितज्यू’को गीत ‘गैराघरे काँइली’ले युट्युबमा छोटो समयमै उच्च दर्शक पाएको छ। सार्वजनिक भएको ६ दिनमै गीतले १० लाखभन्दा बढी भ्युज पार गरेको हो।
गीतले तीव्र गति लिँदै ११ लाखभन्दा बढी भ्युज बटुलेपछि निर्माण टिम उत्साहित बनेको छ। निर्माता मगरले दर्शकको मायाप्रति आभार व्यक्त गर्दै गीतलाई साथ दिएकोमा धन्यवाद दिएका छन्।
समाचार तयार पार्दासम्म गीतमा २४ हजारभन्दा बढी लाइक र १३ सयभन्दा बढी कमेन्ट आएका छन्। अधिकांश दर्शकले गीत, नृत्य र कलाकारको अभिनयको प्रशंसा गरेका छन्।
विशेषगरी तेरिया फौजा मगरको नृत्य र सौगात मल्लको फरक शैली दर्शकले रुचाएका छन्। सौगातको नयाँ रूप देख्न पाइएको भन्दै धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन्।
गीतको भिडियोमा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर देखिएका छन्। लोकलयमा आधारित गीतमा श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत पनि मल्लकै हो। मिङ्मा डि लेप्चाको कोरियोग्राफी रहेको गीतलाई दर्शकले अत्यधिक मन पराएका छन्।
अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया मगरसहित पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा लगायत कलाकारको अभिनय रहेको छ। फिल्म आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।
News Filmy Newsportal / Nepal