भारतभर रिलिज हुँदै ‘जेरी अन टप’, गान्तोकमा प्रिमियर

काठमाडौं । अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ भारतका विभिन्न सहरमा प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षका अनुसार फिल्म फेब्रुअरी २७ देखि दार्जिलिङ, सिक्किम, देहरादुन, दिल्ली, कालिम्पोङ, सिलिगुरी र कोलकातासहित नेपाली भाषी दर्शकको बसोबास रहेका क्षेत्रमा एकसाथ रिलिज हुनेछ।

रिलिजअघि फेब्रुअरी २६ मा गान्तोकमा प्रिमियर शो आयोजना गरिनेछ। कार्यक्रममा अभिनेता अनमोल केसी, अभिनेता भुवन केसी, अभिनेत्री जसिता गुरुङलगायत कास्ट एन्ड क्रू सहभागी हुनेछन्। गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटाको विशेष प्रस्तुति रहने निर्माता सरोज न्यौपानेले जानकारी दिए। फिल्म युनिट हाल सिक्किममा छ।

सगरमाथा आरोहणको पृष्ठभूमिमा निर्माण भएको ‘जेरी अन टप’ प्रेम, सम्बन्ध र युवापुस्ताको भावनात्मक यात्रामा केन्द्रित छ। सुयोग गुरुङले निर्देशन गरेका छन्।
गत असोज अन्तिम साता नेपालसहित अन्य देशमा प्रदर्शनमा आएको फिल्मले विश्वभर १७ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको निर्माण पक्षको दाबी छ।

अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी र उषा खड्गीको अभिनय छ। फिल्मको भारत प्रदर्शनको व्यवस्थापन असली प्रोडक्सनले मिलाएको हो।

Leave a Reply