रिलिजको पूर्व सन्ध्यामा ‘कुमारी’को सुखद संकेत: ‘डोको बुन्ने’ले पार गर्‍यो करोड भ्युज, देशभर उत्साहजनक शो

काठमाडौं। नेपाली फिल्म ‘कुमारी’ भोलि शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुँदैछ। रिलिजको ठीक एक दिन अगावै फिल्मले सुखद संकेत दिएको छ। फिल्मको लोकप्रिय गीत ‘डोको बुन्ने’ले युट्युबमा १ करोडभन्दा बढी भ्युज पार गर्दै दर्शकमाझ बलियो उपस्थिति जनाएको हो।

केहर सिंह लिम्बुको स्वर रहेको यस गीतमा सागर लामिछाने मगर र सुमन तामाङका शब्द तथा सुमन र केहर एन्ड द लुङा ब्यान्डको संगीत रहेको छ। यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ जस्ता गीतहरूले पनि राम्रो चर्चा पाइसकेका छन्।

भोलिदेखि प्रदर्शनमा आउन लागेको ‘कुमारी’ फिल्मले देशभरका सिनेमा हलहरूबाट उत्साहजनक शो प्राप्त गरेको छ। करिब २ सय शोसहित हल प्रवेश गर्न लागेको फिल्मले बक्स अफिसमा राम्रो ओपनिङ गर्ने अपेक्षा गरिएको छ।

प्रेम कथानक फिल्म निर्देशनमा माहिर मानिने निर्देशक दिनेश राउतको निर्देशन रहेको यस फिल्मलाई विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन्। फिल्ममा प्रेम, मानवीय संघर्ष र पारिवारिक अन्तर्द्वन्द्वको कथालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।

यसै फिल्ममार्फत अविषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गर्दैछन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको फिल्मका कार्यकारी निर्माता केदार भुसाल हुन्। रोयल भीमसेनले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेको ‘कुमारी’ फिल्म भोलिदेखि दर्शकको परीक्षा सामना गर्न तयार छ।

Leave a Reply