‘५.५ फेडर युनिटभन्दा कममा फिल्म नचलाउनुस्’ : निर्देशक दिनेश राउत

काठमाडौं।  निर्देशक दिनेश राउतको प्रतीक्षित फिल्म ‘कुमारी’ यही माघ २३ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउने भएको छ। प्रदर्शनको पूर्वसन्ध्यामा निर्देशक राउतले देशभरका थिएटर टेक्निसियन तथा प्रोजेक्सनिष्टहरूलाई पत्राचार गर्दै फिल्मको ध्वनि गुणस्तरसम्बन्धी प्राविधिक जानकारी गराएका छन्।

फिल्म ‘कुमारी’ लाई अत्याधुनिक इमर्सिभ फर्म्याटमा साउन्ड मिक्सिङ गरिएको निर्माण पक्षले जनाएको छ। दर्शकहरूले Dolby Atmos, DTS:X र AuroMax जस्ता उच्च प्रविधियुक्त हलहरूमा पूर्ण सिनेम्याटिक अनुभव लिन सकून् भन्ने उद्देश्यले फिल्मको साउन्ड डिजाइन गरिएको हो।

निर्देशक राउतका अनुसार फिल्मको साउन्ड मिक्सिङ र मास्टरिङ साउन्ड प्रोसेसर फेडर युनिट ५.५ मा गरिएको छ। ध्वनिको डाइनामिक्स सुरक्षित राख्न र दर्शकलाई वास्तविक ध्वनिको अनुभूति गराउन यही स्तर कायम गरिएको उनले बताए।

निर्माण टोलीले फिल्म प्रदर्शनपूर्व नै सिनेमा हलहरूमा ५.५ फेडर युनिटमा ट्रायल शो सम्पन्न गरिसकेको जनाएको छ। फिल्मको प्रभावकारी प्रस्तुतीकरणमा कुनै कमी नआओस् भन्नका लागि हलहरूलाई ५.५ भन्दा कम भोल्युम युनिटमा फिल्म प्रदर्शन नगर्न अनुरोध गरिएको निर्देशक राउतले जानकारी दिए।
पत्रमा उल्लेख गरिएको छ, “हामीले रचनात्मक रूपमै ५.५ फेडर युनिटलाई आधार मानेर काम गरेका हौँ। दर्शकले उत्कृष्ट अनुभव प्राप्त गरून् भन्ने उद्देश्यले व्यावसायिक प्रदर्शनअघि एक पटक अनिवार्य टेस्ट रन गरिदिन हामी आग्रह गर्दछौँ।”

उच्च प्राविधिक मापदण्डमा तयार पारिएको फिल्म ‘कुमारी’ ले नेपाली फिल्मको प्राविधिक स्तरलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ। अभिषेक खड्का र आकृति राजभण्डारीको प्रमुख अभिनय रहेको तथा महेन्द्र अधिकारी निर्माता रहेको यस फिल्मलाई लिएर दर्शक र प्रदर्शक दुवैमा उत्साह देखिएको छ।

Leave a Reply