बालेनसँगै अछाम पुगेका पत्रकार सिटौला गम्भीर अस्वस्थ, उद्धारका लागि हेलिकप्टर परिचालन

काठमाडौं। काठमाडौं महानगरपालिकाका पुर्व प्रमुख बालेन्द्र शाह (बालेन) सँगै अछाम भ्रमणमा रहेका वरिष्ठ रङ पत्रकार दिनेश सिटौला अचानक अस्वस्थ भएका छन्। बिहीबार साँझ अछाम पुगेका पत्रकार सिटौला शुक्रबार बिहान करिब ९ बजे बेहोस भई ढलेका हुन्।

 

​नेपाल पत्रकार महासंघका सचिव वैकुण्ठराज पराजुलीका अनुसार बालेनको टोलीसँगै यात्रा गरिरहेका सिटौला अछाममा चिया खाइरहेको समयमा एक्कासी ढल्न पुगेका थिए। उनलाई तत्काल उपचारका लागि अछाम जिल्ला अस्पताल पुर्‍याइएको थियो।

 

​अछाम जिल्ला अस्पतालका प्रमुख डा. कमलेश यादवले सिटौलाको टाउकोमा गम्भीर चोट लागेको र रगत जमेको (Internal Bleeding) हुनसक्ने जानकारी दिएका छन्।

 

​बिरामीको अवस्था गम्भीर रहेकाले तत्काल सिटिस्क्यान र न्यूरो सर्जिकल सेवा आवश्यक छ।​जिल्ला अस्पतालमा सो सुविधा नभएकाले उनलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको हो।

 

​घाइते सिटौलालाई लिन नेपाली सेनाको हेलिकप्टर अछाम पुगिसकेको छ। चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीका अनुसार उनलाई काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना गरिने तयारी छ।

काठमाडौं महानगरका मेयर बालेन शाह अहिले अछाम जिल्ला अस्पतालमै रहेर उपचार र उद्धार प्रक्रियाको समन्वय गरिरहेका छन्। सिटौला चलचित्र पत्रकार संघ, नेपालका निवर्तमान अध्यक्ष समेत हुन्।

Leave a Reply