‘द ब्लू लाइट’ मा सृष्टिको नेगेटिभ अवतार, अर्पण भन्छन्– ‘यस्तो फिल्म सधैँ बन्दैन’

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा एउटा फरक विधाको रूपमा हेरिएको मनोवैज्ञानिक थ्रिलर फिल्म ‘द ब्लू लाइट’ माघ १६ गते (यही शुक्रबार) देखि देशभरका हलहरूमा प्रदर्शन हुँदैछ ।

बलियो स्टारकास्ट र आफूलाई दर्शकसामु प्रमाणित गरिसकेका कलाकारहरूको अभिनय रहेको यस फिल्मले नेपाली सिनेमाको परम्परागत धारभन्दा केही फरक स्वाद दर्शकलाई दिने अपेक्षा गरिएको छ । ‘द ब्लू लाइट’ मा बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ, अर्पण थापा, महेश त्रिपाठी र आयुशमान देशराज जोशी मुख्य भूमिकामा छन् ।

बेनिशा हमाल नेपाली सिनेमा उद्योगमा अब्बल अभिनय क्षमताका लागि परिचित छन् । उनी जस्तोसुकै भूमिकामा पनि आफूलाई ढाल्न सक्ने अभिनेत्री हुन् ।

आधुनिक शहरिया भूमिकादेखि गाउँले सोझी–सिधा युवतीसम्म, उनी सधैँ फिट देखिन्छिन् । जस्तोसुकै चरित्रमा पनि सहजै ढल्न सक्ने अभिनेत्री बेनिशा ‘द ब्लू लाइट’ लाई लिएर निकै उत्साहित छिन् ।

बेनिशाले यो फिल्म दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताइन् ।“अहिले हामीले हेरिरहेका फिल्मभन्दा यो केही फरक छ,” बेनिशा भन्छिन्, “त्यसैले दर्शकले मन पराउनुहुनेछ भन्नेमा हाम्रो टिम विश्वस्त छ ।”

फिल्मको कन्टेन्ट र पर्फर्मेन्स मन परेर नै आफू निर्माणमा पनि जोडिएको उनले प्रष्ट पारिन् । बेनिशा ‘द ब्लू लाइट’ की कार्यकारी निर्माता पनि हुन् । साइकोलोजिकल थ्रिलर फिल्मको विषय र प्रस्तुति मुख्य आकर्षण रहेको उनले बताइन् ।

यस्तै, अहिलेसम्म सुन्दरी र रोमान्टिक भूमिकामा देखिँदै आएकी अभिनेत्री श्रृष्टि श्रेष्ठ यस फिल्ममा भने ‘नेगेटिभ’ भूमिकामा देखिँदैछिन् । उनले यसअघि थ्रिलर फिल्म ‘११:५५’ मा काम गरेकी थिइन्, तर ‘द ब्लू लाइट’ मा निभाएको भूमिकालाई आफ्नो करिअरकै अहिलेसम्मकै फरक भूमिका भएको बताइन् ।

“यो फिल्ममा मेरो भूमिका अलि ‘एन्टागोनिस्ट’ (खलपात्र) प्रकृतिको छ । मलाई यस्तै थ्रिलर जनराका फिल्महरू मन पर्छन्, तर ‘द ब्लू लाइट’ को कथा र भूमिका एकदमै गहिरो र फरक छन्,” उनले भनिन् ।

“एक कलाकारका रूपमा सधैँ राम्रो र सकारात्मक देखिनु मात्र नभई यस्ता जटिल र नकारात्मक चरित्र निर्वाह गर्दा धेरै कुरा सिक्न पाइन्छ,” श्रृष्टिले भनिन्, “निर्देशकको सोच र कथाको गहिराइले गर्दा म यो भूमिकाप्रति आकर्षित भएँ । यो मेरो करिअरकै सबैभन्दा फरक भूमिका हो ।”

अभिनेता अर्पण थापाले ‘द ब्लू लाइट’ जस्तो फिल्म कमै मात्र बन्ने बताएका छन् ।
“‘द ब्लू लाइट’ जस्तो फिल्म हम्मेसी बन्दैन । यस्तो फिल्म बनाउन बलिराम चौहानजस्ता निर्देशक नै चाहिन्छ,” अर्पण भन्छन्, “धेरै फिल्म बन्छन्, तर यस्तो फिल्म घरीघरी बन्दैन ।”

फिल्मका केही दृश्य र प्रस्तुतिको उनले तारिफ गर्दै भने, “फिल्म हेरेपछि दर्शकले धेरै कुरा सोच्न बाध्य हुनेछन् ।”

भर्सटाइल अभिनेता, निर्देशक तथा लेखकसमेत रहेका अर्पणले एउटा चरित्र निर्माणमा लेखनदेखि निर्देशन र पूरै निर्माण टोलीको महत्वपूर्ण भूमिका हुने बताए ।
“‘द ब्लू लाइट’ मा हामीले यस्तो पात्र प्रस्तुत गरेका छौँ, जसको मनोविज्ञानले दर्शकलाई सोच्न बाध्य बनाउनेछ,” उनले भने ।

अर्पणले आफू सधैँ फरक र चुनौतीपूर्ण चरित्रको खोजीमा रहने र यो फिल्मले आफ्नो त्यो चाहना पूरा गरेको पनि बताए ।

फिल्म ‘द ब्लू लाइट’ मा बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ, अर्पण थापा, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा रहेका छन् ।

फिल्मलाई बलिराम चौहानले निर्देशन गरेका छन् । यो उनको पहिलो निर्देशन हो ।

स्काइफल पिक्चर्सको प्रस्तुतिमा बनेको ‘द ब्लू लाइट’ का सह–निर्माता भोलानाथ कटुवाल र रमन ग्रे हुन् । कार्यकारी निर्मातामा नरेन्द्र मैनाली र बेनिशा हमाल रहेका छन् ।

फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् । आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर तथा दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

Leave a Reply