काठमाडौं । चरित्र अभिनेता माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’को सम्पूर्ण छायांकन सकिएको छ। कास्कीस्थित एक रिसोर्टमा मंगलबार ३३ दिनमा फिल्मको अन्तिम छायांकन (इन्डक्लयाप) गरिएको छ।
निर्देशक गुरुङले रातदिन छायांकनमा खटिएका सम्पूर्ण सहयोगी र प्राविधिकलाई धन्यवाद व्यक्त गर्दै छायांकन सकिएको जानकारी दिए। उनले भने, “गाह्रो अफ्ठेरो नभनी काम गर्नुभएका सबैलाई आभार। अब पोष्ट–प्रोडक्सनको काम सुरु हुनेछ।”
फिल्मको प्रदर्शन मिति हालसम्म घोषणा गरिएको छैन। निर्देशक गुरुङले भने, “अबको केही दिनमा पोष्ट–प्रोडक्सन सुरु हुनेछ। त्यसमा कति समय लाग्छ, त्यसअनुसार रिलिज मिति घोषणा गर्नेछौं। दर्शकलाई राम्रो फिल्म देखाउन चाहन्छौं, त्यसैले कुनै पनि कम्प्रमाइज नगरी काम गरिरहेका छौं।”
फिल्ममा ‘गडफादर’का रुपमा परिचित माओत्से गुरुङको पनि लगानी रहेको छ। यसमा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ र यासिली राई लगायत कलाकारको अभिनय रहेको छ।
फिल्मको शीर्षकले भूतपूर्व लाहुरेको कथा झैँ लागे पनि निर्देशक गुरुङले यसले लोभी केटा कसरी दानी बन्छ भन्ने विषयलाई उठाउने बताए। ‘पेन्सन पट्टा’ माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भइरहेको छ भने कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन्।
यस फिल्ममा लगानी मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङले गरेका छन्। प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ छन्। सुशन प्रजापतिले छायांकन गरेका फिल्मको कास्टिङ डिरेक्टर सुरज तमु हुन्। संगीत झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीले तयार पारिरहेका छन्।
निर्देशक माओत्से गुरुङले डेब्यु निर्देशन गरेका फिल्म ‘दयारानी’ बक्सअफिसमा हिट भएको थियो। चरित्र अभिनेता, निर्देशक र निर्माता तीनै रुपमा सक्रिय गुरुङले अहिले लेखन तथा निर्देशनमा पनि ध्यान दिइरहेका छन्। उनी यसअघि गुरुङ भाषाका फिल्म निर्देशन गर्दै आएका थिए।
यो फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।
News Filmy Newsportal / Nepal