काठमाडौं । बिहीबारबाट रिलिज भएको फिल्म ‘अभिमन्यु : च्याप्टर १’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया (रिभ्यू) दिएका छन् । हलमा पुगेका दर्शकले यो फिल्मलाई ‘नेपाली समाजको ऐना’ भएको बताएका छन् ।
तराई मधेसमा व्याप्त दाइजो प्रथा र त्यसले सिर्जना गर्ने भयावह अवस्थालाई फिल्मले सकारात्मक रूपमा देखाएको दर्शकहरूको प्रतिक्रिया छ ।
“फिल्मको नायिका विस्तारै विस्तारै जसरी अगाडि बढेको देखाइएको छ, त्यो पछिल्लो समयको नेपाली समाज हो,” एक दर्शकले भने, “महिला पनि अहिलेको समाजमा त्यो बाटोमा हिँड्न थालेका छन् । यसले हाम्रै समाजको र हामीले नै देखिरहेको कथा देखाउँदा रिलेट भएको महसुस भयो ।”
दर्शकहरूले फिल्मले ‘मुटुमै हान्यो’ भन्दै आफ्ना साथीभाइ र आफन्तलाई पनि चाँडै ‘अभिमन्यु’ हेर्न आग्रह गरेका छन् । उनीहरूले भने, “सबैले हेर्नु होला । हाम्रै समाजको कथा छ । हामीले रिलेट गर्ने कथा छ । कतिले आफैँसँग रिलेट पनि गर्नु हुनेछ ।”
‘अभिमन्यु : च्याप्टर १’ मा कामेस्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् । उनीहरूका साथै किरण श्रेष्ठ, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर बाङदेल लगायतका कलाकारको अभिनय छ । फिल्ममा रेखा थापा पनि अतिथि भूमिकामा रहेकी छन् ।
सुशान्त गौतम को निर्देशनमा बनेको यो फिल्मका निर्माताहरू विनोद पौडेल र गुञ्जन गिरी हुन् ।
News Filmy Newsportal / Nepal