काठमाडौं । रेहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मुगलान’ आगामी पुष १० गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सोमबार फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
यही नाममा करिब २० वर्षअघि शिव रेग्मीको निर्देशनमा बनेको फिल्म सफल भएको थियो।
सार्वजनिक फर्स्ट लुक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ । पोस्टरमा प्रभातले बाँसुरी बजाउन लागेको जस्तो देखिन्छन् भने स्मारिका लजालु मुद्रामा छिन् । यसले उनीहरूबीचको प्रेमकथा झल्काएको छ । साथै, यो फिल्ममा नेपाली गाउँ समाज र परदेशको पृष्ठभूमि समेटिएको सङ्केत गर्छ।
फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खड्ग बहादुर, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मलाई आशिष ढकालले लेखन र निर्देशन गरेका हुन् भने गोमन सिंह यसका निर्माता हुन्। रिता चौधरी सह-निर्माता (को-प्रोड्युसर) रहेकी छन्।
फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् । जय बिष्ट र राम गुरुको द्वन्द्व निर्देशन रहेको यो फिल्ममा रिदम कँडेलको बिजिएम (BGM) छ। देबेन्द्र कुँवरको छायाङ्कन रहेको फिल्मको डीओपी (DOP) अजय रेग्मी हुन् । फिल्ममा संगीत किरण भुषालले दिएका छन् ।
News Filmy Newsportal / Nepal