काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ सार्वजनिक भएको छ। प्रशान्त शिवाकोटीको शब्द र संगीतमा तयार गीतमा उनी स्वयं र गायिका शान्तीश्री परियारको स्वर छ।
प्रेमिल भावमा तयार गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको कथा प्रस्तुत गरिएको छ। गीतमा प्रेमीले प्रेमिकासँग जीवन बिताउने चाहना व्यक्त गर्दा प्रेमिकाले उनको व्यवहारप्रति शंका प्रकट गरेकी छन्। अन्ततः प्रेमीको आग्रहमा सहमत हुने दृश्य गीतमा देखाइएको छ।
गीतको भिडियोमा कलाकार विजय बराल र समृद्धि आर्यालको जोडी देखाइएको छ। भिडियोले फिल्ममै उनीहरूको प्रेमकथा केन्द्रमा रहने संकेत गरेको छ।
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्म ‘वरिष्ठ बलराम’ आउँदो कात्तिक ६ गते भाइटीकामा रिलिज हुने तय भएको छ। फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि आर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारको अभिनय छ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता हुन्। महेश दवाडीले पटकथा लेखेको यस फिल्मको छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो।
मनकृष्ण महर्जनको छायांकन, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। फिल्मलाई काठमाडौं उपत्यकामा डीसीएन र बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।
News Filmy Newsportal / Nepal