काठमाडौं। दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा बनेको फिल्म ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक पोस्टरमा दिग्गज अभिनेता नीर शाहलाई मात्र केन्द्रमा राखिएको छ।
यसअघि महेश त्रिपाठी र अञ्जना बराईलीलाई चित्रित गर्दै पोस्टर ल्याइएकोमा, यसपटक नीर शाहलाई शंख फुक्दै गरेको गम्भीर मुद्रामा प्रस्तुत गरिएको छ। उक्त दृश्यले फिल्ममा धर्म, संस्कृति वा परम्परागत मूल्यको महत्वपूर्ण स्थान रहने सङ्केत गरेको छ।
‘सासले होइन, साथले चल्ने’ ट्यागलाइनसहित आएको फिल्मले सम्बन्ध र भावनालाई केन्द्रमा राख्ने अपेक्षा गरिएको छ। शाहको उपस्थिति फिल्मलाई अझ बलियो कथावस्तु र अभिनय दिने विश्वास गरिएको छ।
बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा बनेको ‘परान’ गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा निर्माण भएको हो। पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन्।
फिल्ममा नीर शाहसँगै महेश त्रिपाठी, अञ्जना बराईली, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, पूजा चन्दलगायत कलाकारको अभिनय छ। संगीत रिदम कँडेलको रहेको फिल्ममा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालले स्वर दिएका छन्।
प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी र समर चौलागाई छन् भने अजय उपाध्याय कार्यकारी निर्माता हुन्। डीओपी शिवराम श्रेष्ठ र सम्पादन मित्र डी. गुरूङले गरेका छन्।
News Filmy Newsportal / Nepal