काठमाडौं । असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जेरी अन टप’ को पहिलो गीत ‘कस्तूरी’ सार्वजनिक भएको छ। बडा दशैंको घटस्थापनाको अवसर पारेर निर्माण संस्था अनन्या फिल्म्स ले सोमबार युट्युबमार्फत गीत वर्ल्ड प्रिमियर गरेको हो।
बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा फिचर्ड छन्। मुस्ताङदेखि भारतको राजस्थानसम्म खिचिएका रमणीय दृश्य समेटिएको गीतमा किरण थापाको कोरियोग्राफी छ। भिडियोमा अनमोल र आँचललाई ‘लभ वर्ड’का रूपमा प्रस्तुत गरिएको छ।
गीतमा आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर रहेको छ भने संगीत, शब्द र साउण्ड डिजाइन जयन जे वाइबाले गरेका हुन्। अशोक थानेतले मिक्सिङ र मास्टरिङ गरेका छन्।
सुयोग गुरुङको निर्देशनमा बनेको फिल्ममा अनमोल र आँचलसँगै अभिनेत्री जसीता गुरुङ, हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी र उषा खड्गी प्रमुख भूमिकामा छन्। अभिनेत्री सुरक्षा पन्तले विशेष भूमिका निर्वाह गरेकी छन्।
फिल्म सरोज न्यौपानेको प्रस्तुतिमा तयार भएको हो। निर्माणमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी सहनिर्माता रहेका छन्। कार्यकारी निर्माता अनुराधा गिरी र इश्वर श्रेष्ठ हुन्।
फिल्ममा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ भने पटकथा विश्वास तिम्सिनाले लेखेका हुन्। दुलिप रेग्मीले छायांकन गरेका छन्।
‘जेरी अन टप’ सगरमाथा आरोहण र यात्राको क्रममा गुज्रिने प्रेमकथामा आधारित छ। फिल्मलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने भएका छन्।
News Filmy Newsportal / Nepal