काठमाडौं। दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार पोस्टर रिलिज गर्दै आगामी माघ ९ (जनवरी २३) लाई प्रदर्शन मिति तोकेको हो।
सार्वजनिक पोस्टरमा अभिनेता सुशील श्रेष्ठ एक्शन अवतारमा प्रस्तुत भएका छन्। उनले हातमा बोकेको तरबारमा आगोको राप देखिने पोस्टरले फिल्ममा प्रतिशोध, लडाइँ र सस्पेन्स मिसिएको कथावस्तु रहेको संकेत गर्छ। पोस्टरको पृष्ठभूमिमा देखिएका केही पात्रलाई रोक्ने वा सम्झाइरहेको दृश्यले कथामा राजनीतिको छायाँ र देशको सीमाना–सम्बन्धी प्रसंग पनि समेटिएको अनुमान गर्न सकिन्छ।
एक्शन निर्देशन श्री श्रेष्ठ को रहेको फिल्मको निर्देशन विजय केरुङ ले गरेका हुन्। कथा तथा निर्माण दीपक सिवाकोटी को रहेको यस चलचित्रमा सुशीलसँगै अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायतका कलाकारको अभिनय रहनेछ।
फिल्मलाई शिवम् अधिकारी ले लेखेका हुन् भने ब्याकग्राउण्ड म्युजिक बलिउडका कालाचरण को छ। सम्पादन बन्दे प्रसाद, सह–सम्पादन उमेश थापा, डिओपी शिव ढकाल, कलरिस्ट राजेन्द्र मोक्तान र एसोसिएट निर्देशक नवराज शर्मा रहेका छन्।
निर्माण पक्षका अनुसार, फिल्मको कथा, संवाद र गीत–संगीत नेपाली समाजमा ‘परिवर्तन’ को चाहनासँग सम्बन्धित छ। फिल्मको प्रोडक्सन अरुण रेग्मी ले सम्हालेका छन्। डिजिटल साझेदार ‘ओएसआर’ र वितरण आर.आर. फिल्म्स ले गर्ने भएका छन्।
News Filmy Newsportal / Nepal