काठमाडौँ । फिल्म ‘जुबा’ निर्माणको घोषणा गरिएको छ। अस्त्र फिल्मसको प्रस्तुतिमा बन्ने यस फिल्ममा मुख्य भूमिकामा सौगात मल्ल रहनेछन्।
फिल्मको लेखन तथा निर्देशन प्रकाश कर्णले गरेका हुन् भने स्क्रिनप्ले वर्षा पौडेलले लेखेकी हुन्। दुवै जना क्रिएटिभ प्रोड्युसरको भूमिकामा रहेका छन्।
यस फिल्ममार्फत सोफी धरेलले नायिकाको रूपमा डेब्यु गर्दैछिन्। सोफीसँगै प्रमुख भूमिकामा रहेका सुधन पोखरेलको यो तेस्रो फिल्म भए पनि प्रदर्शनमा आउन लागेको भने पहिलो हो।
फिल्म घोषणा गर्दै निर्माणपक्षले तीनवटा क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। एउटा पोस्टरमा सौगात मल्ल क्यामेरा सामु नमस्ते गर्दै देखिएका छन्।
अर्को पोस्टरमा उनी पीसीओमा उभिएर फोनमा कुरा गरिरहेका छन् भने सोफी रिसाएको मुद्रामा देखिएकी छन्। यसले करिब दुई दशकअघिको कथा भन्न लागेको संकेत गर्छ।
तेस्रो पोस्टरमा सुधन पोखरेल खलपात्रको रूपमा देखिएका छन्। चुरोट तानिरहेको उनको लुक्सले खतरनाक भिलेनको भूमिका झल्काउँछ।
फिल्मको कथा, अन्य कलाकार र प्राविधिक पक्षबारे भने निर्माण टिमले हालसम्म कुनै जानकारी दिएको छैन।
News Filmy Newsportal / Nepal


