काठमाडौं। निर्देशक डेब्यु गर्दै एकता पौडेलले आफ्नो पहिलो फिल्म ‘हर्ष’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरेकी छन्। सोमबार बिहान सार्वजनिक दुई पोस्टरमार्फत फिल्म मंसिर १२ गते रिलिज हुने पनि जानकारी दिइएको छ।
पहिलो पोस्टरमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री वर्षा राउत र शर्मिला मल्ललाई खुसी मुद्रामा देखाइएको छ भने सन्तोष पन्तलाई केही असन्तुष्ट भावमा प्रस्तुत गरिएको छ। पोस्टरमा खगेन्द्र र वर्षा आफ्ना छोराको भूमिकामा देखिएका बालकलाकार साइमन वादीसँग रमाइरहेका छन्। दोस्रो पोस्टरमा उनीहरूलाई पुनः मुस्कानमा देखाइएकाले फिल्म पारिवारिक भावनामा आधारित रहेको बुझिन्छ। यस पोस्टरमा साइमनलाई बालकृष्णको पहिरनमा प्रस्तुत गरिएको छ भने नीर शाहलाई गम्भीर मुद्रामा देखाइएको छ।
फिल्मले पारिवारिक जीवनका उतारचढावलाई कथा बनाएको छ। दिवंगत निर्देशक शिव रेग्मीको विरासत समाउने प्रयत्न निर्देशक पौडेलले गरेकी छन्। न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म अध्ययन गरेकी पौडेल यसअघि केही छोटा फिल्म निर्माण गरिसकेकी हुन्।
‘हर्ष’ मा खगेन्द्र, वर्षा, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ललगायत कलाकारको अभिनय छ। अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राइम मुभिजको संयुक्त निर्माणमा बनेको फिल्ममा आलोक शुक्लाको छायांकन, समीर–हिमाल, वसन्त सापकोटा र एलिश कार्कीको संगीत रहेको छ। निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन् भने वितरण गोविन्द शाहीको काफिया फिल्म्सले गर्नेछ।
News Filmy Newsportal / Nepal

