काठमाडौं। फिल्म ‘रङ्गेली’ निर्देशन गरेका तथा चाँडै प्रदर्शनमा आउन लागेका ‘सोल्टिनी’ का निर्देशक अर्जुन सुवेदीले आफ्नो नयाँ फिल्म ‘कन्यादान’ निर्माण गर्ने घोषणा गरेका छन्। सामाजिक संवेदनशील विषयलाई केन्द्रमा राखेर बन्ने यस फिल्ममा एकल महिलाले भोग्नुपरेका चुनौती र उनीहरूले पाउनुपर्ने दोस्रो अवसरलाई प्रस्तुत गरिने निर्देशक सुवेदीले जानकारी दिए।
“हरेक एकल महिलाले दोस्रो अवसर पाउनुपर्छ भन्ने सन्देश दिन यस फिल्म तयार गर्न लागिएको हो,” उनले बताए। समाजका कडाइ र परम्परागत मान्यतालाई चुनौती दिँदै दोस्रो ‘कन्यादान’ प्राप्त गरी पुनः प्रेम र जीवन जिउने अधिकारलाई कथामा समेटिनेछ।
कुमार भट्टराई र अर्जुन सुवेदीको लेखनमा आधारित फिल्मलाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य लिइएको छ। यसलाई प्लानेट थ्री फिल्म्स ले निर्माण गर्नेछ भने सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्ट सहकार्य गर्नेछन्।
फिल्ममा रेजिना बिस्ट प्रस्तुतकर्ता, मार्टिन ओली कार्यकारी निर्माता, सुसन प्रजापति छायाङ्कन निर्देशक, प्रशान्त सिवाकोटी संगीतकार, सुजन खतिवडा प्रोजेक्ट हेड, रोयल भीमसेन पोस्टर तथा पब्लिसिटी डिजाइनर र ओएसआर डिजिटल डिजिटल वितरक रहनेछन्।
यसअघि पनि ‘कन्यादान’ शीर्षकमा फिल्म बनेका भए पनि सुवेदीले निर्देशन गर्ने यो नयाँ ‘कन्यादान’ फरक कथामा निर्माण हुने बताइएको छ। घोषणासँगै सार्वजनिक गरिएको पोस्टर कन्सेप्च्युअल डिजाइनमा आधारित छ, जसमा महिलाको साङ्केतिक तस्बिरमार्फत विधवाले भोग्ने मौन पीडा र पुनः जीवनप्रतिको चाहना प्रतिबिम्बित गरिएको छ।
News Filmy Newsportal / Nepal