काठमाडौं। आगामी असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जेरी अन टप’ को टिजर सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको छ। अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङको त्रिकोणात्मक प्रेमकथालाई रोमान्टिक र स्टाइलिस शैलीमा प्रस्तुत गरिएको टिजर संवादविहीन भए पनि प्रभावशाली देखिन्छ।
अनमोलको फ्रेश लुक्स र माग्ने बुढा (केदार घिमिरे) को झल्कोले दर्शकमा पुरानो ‘जेरी’ को क्रेज पुनः जगाएको छ। सगरमाथा बेसक्याम्प, काठमाडौं र मुस्ताङमा छायांकन गरिएको फिल्मका केही दृश्य करोडौंको लागतमा निर्माण गरिएको सेटमा खिचिएका छन्।
फिल्ममा अनमोलसँगै जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त र उषा खड्कीको पनि अभिनय रहेको छ। फिल्मको कथा हेमराज बिसीले लेखेका हुन् भने पटकथा विश्वास तिम्सिनाले तयार पारेका हुन्। निर्देशन सुयोग गुरुङको हो भने निर्माण सरोज न्यौपानेले गरेका हुन्।
फिल्मको संगीतमा कालिप्रसाद बाँसकोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र ब्रिजेश श्रेष्ठ रहेका छन्। एलजी एसोसिएट्सले अष्ट्रेलियाबाहेक अन्तर्राष्ट्रिय वितरण अधिकार लिएको छ भने नेपालमा यसको वितरण रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछन्।