काठमाडौं । निर्देशक सजन काफ्ले र आकास बरालले नयाँ फिल्म ‘जिरो डिग्री’ निर्माण गर्ने भएका छन्। सोमबार मेघौली फिल्म्सको ब्यानरमा मिनिमल पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको हो।
राजन भुसालले लेखेको कथामा आधारित यस फिल्मको पटकथा र संवाद निर्देशकद्वयले तयार गरेका हुन्। सडक सुविधा नभएको गाउँमा विदेशमा रहेका छोराछोरी फर्कुन्जेलसम्म मृतकको शव सुरक्षित राख्न डीप फ्रिज प्रयोग गर्नुपरेपछि सिर्जना हुने परिस्थितिमा कथा केन्द्रित छ। निर्देशकद्वयका अनुसार फिल्ममा हल्का कमेडीको स्वाद पनि मिसाइएको छ।
फिल्ममा अभिनेता विजय बराल मुख्य भूमिकामा देखिनेछन्। सार्वजनिक पोस्टरमा कथाको प्रतीक डीप फ्रिजलाई केन्द्रीय रूपमा प्रस्तुत गरिएको छ। ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेको उक्त पोस्टरमा केही मानिसहरूले फ्रिज बोकेर खोला तारिरहेको दृश्य चित्रण गरिएको छ।
फिल्मका कार्यकारी निर्माता मोती कार्की हुन्। तिहारपछि छायांकन सुरु गर्ने र आगामी वर्ष प्रदर्शनमा ल्याउने तयारी गरिएको छ। यसको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ। फिल्मका गीतमा अङ्कित बाबु अधिकारीले संगीत दिनेछन् भने ‘ऊनको स्वीटर’ फिल्मको चर्चित गीत ‘काफ्ले’का रचनाकार युवराज काफ्लेले गीत लेख्नेछन्।
News Filmy Newsportal / Nepal