‘मालती मंगले’ फिल्मको तयारी तीव्र, कलाकारहरूको कार्यशाला काठमाडौंमा जारी

काठमाडौं। भाद्र दोस्रो सातादेखि छायांकन थाल्ने तयारीमा रहेको नेपाली फिल्म ‘मालती मंगले’ को तयारी तीव्र छ। फिल्मको तयारीसँगै काठमाडौंमा हाल कलाकारहरूको कार्यशाला सञ्चालनमा छ।

फिल्मका पटकथा तथा संवाद लेखक संयोग गुरागाईंको संयोजनमा चलिरहेको कार्यशालामा अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेशजङ्ग ठकुरी, रिजन परियार, सागर भट्टराईलगायत कलाकार सहभागी छन्।

अभिनेता विजय बरालका अनुसार कार्यशालाले पात्रप्रति गहिरो समझदारी दिनुका साथै अभिनयलाई विश्वसनीय बनाउन सहयोग पुर्‍याएको छ।
उनले भने, “दर्शकले आफूलाई पर्दामा देखेजस्तो महसुस गर्नेछन्। वर्कसपले मलाई पात्रमा बाँच्ने अभ्यास गराइरहेको छ।”

त्यस्तै, अभिनेत्री वर्षा राउतले फिल्ममा आफूले निभाउने भूमिकासँग भावनात्मक सम्बन्ध जोड्न वर्कसपले मद्दत गरिरहेको बताइन्।
उनको भनाइमा, “यो पारिवारिक कथामा आधारित फिल्म हो। पात्रको गहिराइमा पुग्न पाउनु भाग्यमानी महसुस भएको छ।”

प्रकु पाण्डेयको निर्देशनमा बन्ने फिल्मको कथा पनि पाण्डेय स्वयंले लेखेका हुन्, भने पटकथा र संवाद गुरागाईंले तयार पारेका हुन्।

फिल्मको छायांकन तनहुँ र स्याङ्जा जिल्लाका विभिन्न स्थानहरूमा हुने कार्यकारी निर्माता सागर ज्ञवालीले जानकारी दिए।
रामकृष्ण ढकाल निर्माता रहेको फिल्म रानी म्युजिक इन्टरनेशनल प्रा.लि. को ब्यानर र युनी इन्टरटेनमेन्ट को सहकार्यमा निर्माण हुँदैछ।

फिल्ममा सह–निर्मातामा रविन श्रेष्ठ र बाबु सुवेदी छन्। महेश पौडेल छायांकन निर्देशक, रोमी तण्डुकार सम्पादक, र कृष्ण भण्डारी रङ्ग संयोजक रहनेछन्।
गीतकारमा राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी, र संगीतकारमा हरि लम्साल, राजनराज सिवाकोटी र उज्ज्वल सागर संलग्न छन्।

निर्देशक पाण्डेयका अनुसार ‘मालती मंगले’ पारिवारिक प्रेम, सम्बन्ध र संवेदनशीलता बोकेको फिल्म हुनेछ, जसले नेपाली समाजको यथार्थ छवि प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।