‘बलिदान’ टिजरले पायो उत्कृष्ट प्रतिक्रिया, २४ घण्टामै १ मिलियन भ्युज

काठमाडौं।  नेपाली  फिल्म ‘बलिदान’ को टिजर सार्वजनिक भएको २४ घण्टाभित्र नै युट्युबमा १ मिलियनभन्दा बढी पटक हेरिएको छ। छोटो समयमा यति ठूलो डिजिटल प्रतिक्रिया पाउने टिजरमध्ये ‘बलिदान’ पनि एक बनेको छ।

सामान्यतया फिल्मका गीत वा ट्रेलरको डिजिटल उपस्थिति टिजरभन्दा बलियो हुने परम्परा रहे पनि ‘बलिदान’ को टिजरले पाएको भ्युजलाई उल्लेखनीय मानिएको छ। यस उपलब्धिमा प्रमुख कलाकार समीर भट्टको स्टारडम र निर्देशक सन्तोष सेनको सिनेमाटिक प्रस्तुति निर्णायक भएको बुझिन्छ।

देशभक्ति, विद्रोह र क्रोध मिसिएको संवादसहितको टिजरले दर्शकलाई सशक्त बनाएको अनुभूति दिएको छ। टिजरमा समीर भट्टलाई ‘एक्सन किङ’ को परिचय दिइँदै देखाइएको छ। उनको संवाद — “यो आमा न लाचार छ, न त यो आमाको कोख नै खाली छ। यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ” — सामाजिक सञ्जालमा ट्रेन्डिङ बनेको छ। उक्त संवादलाई युवापुस्ताले ऊर्जा र गर्वको प्रतीकका रूपमा ग्रहण गरिरहेका प्रतिक्रिया आएका छन्।

सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा र हेमन्त बुढाथोकीलगायतका कलाकारको अभिनयले पनि टिजरलाई थप बल दिएको छ। यसअघि भट्टको जन्मदिनका दिन सार्वजनिक गरिएको प्रि-टिजर नेपालसहित विदेशी मुलुकमा युट्युब ट्रेन्डिङमा आएको थियो। अहिले सार्वजनिक टिजरले त्यस अपेक्षालाई अझै माथि पुर्‍याउँदै ‘बलिदान’ प्रतीक्षालाई उत्कर्षमा पु¥याएको छ।

फिल्म आसुसेन फिल्म्स प्रा. लि. को ब्यानरमा बनेको हो। पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेको यस फिल्मलाई बडादसैँको फूलपातीको दिन प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।