काठमाडौँ। तेस्रोलिंगी महिलाको संघर्षमा आधारित फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले आफ्नो लिंगीय पहिचान स्वीकार गर्न खोज्ने छोराको प्रयास र त्यसलाई दबाउन खोज्ने बुवाबीचको द्वन्द्वलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।
नाजिर हुसेनले ट्रान्सवुमनको भूमिका निर्वाह गरेको फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, शिशिर राणा, अनुपम श्रेष्ठ, राजकुमार घोष र विशाल पहारीको अभिनय रहेको छ। समुन्द्र भट्ट निर्देशित फिल्म भदौ १३ गते प्रदर्शनमा आउँदैछ।
फिल्मको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य विदेशमै सम्पन्न गरिएको छ। हलिउड गायिका लिजा जेरार्डको स्वर र मार्सेलो दी फ्रान्सिसीको ब्याकग्राउन्ड म्युजिक रहेको फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्ले ले खरिद गरेको हो।
नेपाली र हलिउड प्रोडक्सन हाउसको सहकार्यमा निर्माण गरिएको यस फिल्ममा आकाश बुढाथोकी र भी–भन्से जानुबोनको लगानी, जेफ्री जे वेन र स्टिभ जोन्स्टनको कार्यकारी निर्माण तथा अनुपम श्रेष्ठको सह–निर्माण रहेको छ। फिल्म अमेरिकाको तस्वीर फिल्म मार्केटमा पनि छनोट भइसकेको छ।
News Filmy Newsportal / Nepal