‘अभिमन्यु च्याप्टर १ का दुई पोस्टर सार्वजनिक

काठमाडौं। फिल्म ‘अभिमन्यु : च्याप्टर १’ का दुई पोस्टर सार्वजनिक भएका छन्। पहिलो पोस्टरमा प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहितका कलाकार देखिएका छन्। किरणबाहेकका सबै पात्र तनावग्रस्त मुद्रामा छन्। एक दृश्यमा हतकडी लगाइएका पात्रसँग प्रहरी अधिकृतले बयान लिइरहेका छन्।

दोस्रो पोस्टरमा कामेश्वर र लक्ष्मी मन्दिरमा आरती सल्काउँदै प्रशन्न मुद्रामा देखिएका छन्, जसले उनीहरूलाई नवविवाहित जोडीझैँ प्रस्तुत गर्छ।

यसअघि सार्वजनिक गरिएको मोसन टिजरले पैसाका लागि हुने संघर्षको संकेत गरेको थियो। फिल्म भदौ २७ गते नेपालमा प्रदर्शन हुने र यसको हिन्दी संस्करण असोज ६ (सेप्टेम्बर २२) मा विश्वव्यापी रूपमा रिलिज हुने जनाइएको छ।

सुशान्त गौतमको निर्देशनमा बनेको यस फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन्। फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्।