काठमाडौँ। अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुख दुःख’मा अभिनेत्री मिथिला शर्मा अनुबन्ध भएकी छन्। आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो।
अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै निर्देशक अधिकारीले भनिन्, “फिल्म ‘सुख दुःख’मा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौँ। सायद हजुरबिना यो फिल्म अपुरो हुन्थ्यो। अब पूर्ण हुने बाटोमा जाँदैछ।”
यसअघि यो फिल्मका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल डिओपीका रूपमा अनुबन्ध भइसकेका छन्। उनीहरू बाहेक फिल्मको मुख्य कलाकारबारे निर्माण पक्षले अहिलेसम्म खुलाएको छैन। नीताले केही सातापछि मुख्य कलाकारको विवरण सार्वजनिक गर्ने बताएकी छन्।
नीताको डेब्यु निर्देशन रहने ‘सुख दुःख’को निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेलाई दिइएको छ। फिल्म ‘नीता फिल्म्स’ को ब्यानरमा बन्नेछ र आगामी वर्षको दसैंको फूलपातीका दिनदेखि प्रदर्शनमा ल्याउने तयारी छ।
फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।
News Filmy Newsportal / Nepal