परिवर्तनको सुटिङ झापाबाट सुरु

झापा, दमक — झापाको चारआलीस्थित पाथीभरा मन्दिरमा एक विशेष पूजा समारोहका बीच नयाँ  फिल्म ‘परिवर्तन’को मुहूर्त गरिएको छ । विजय केरुङको निर्देशनमा बन्न लागेको यस फिल्ममा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली मुख्य भूमिकामा देखिने छन् ।

फिल्मको मुहूर्तसँगै छायाङ्कनको सुरुवात पनि गरिएको छ । निर्माण टोलीका अनुसार झण्डै ४० दिनसम्म झापा सहित विराटनगर र इलाम फिल्मको छायाङ्कन हुनेछ । फिल्म यसै वर्ष प्रदर्शन गर्ने तयारी गरिएको छ ।

मुहूर्त समारोहमा सुशील र अञ्जनाले पहिलो सट दिएका थिए । मेयर बलदेवसिंह गोम्देन तामाङले मुहूर्त सटको ‘एक्सन कट’ गरेका थिए भने काँग्रेसका मेचीनगर सचिव मुकेश लिम्बुले ‘क्ल्याप’ दिएका थिए । कार्यक्रममा फिल्मसँग सम्बन्धित विभिन्न कलाकार तथा प्राविधिकहरूको उपस्थिति थियो ।

दिब्यासी फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको यस फिल्मले नेपालको सिमाना सुरक्षा, भ्रष्टाचार, र जनताका सामाजिक संघर्षहरू उजागर गर्ने बताइएको छ ।

निर्माता दीपक सिवाकोटीकै कथा रहेको यस फिल्ममा सुशील र अञ्जनासँगै सुनिल थापा, करिश्मा मानन्धर, बुद्धि तामाङ, आशा पौडेल, सुवास मेचे, आयशा कार्की, गौतम तिवारी, पुकार भट्टराई, यमनाथ खरेलजस्ता कलाकारहरूको अभिनय रहनेछ ।

फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन् भने छायांकन शिव ढकालले, सम्पादन भूपेन्द्र अधिकारीले, द्वन्द्व निर्देशन श्री श्रेष्ठले, नृत्य कमल राईले र पोस्टर तथा प्रचार प्रसारको जिम्मा रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले लिएका छन् ।

 याद गरौं, यही शीर्षकमा सन् १९७१ (वि.सं. २०२८) मा हिरा सिंह खत्रीको निर्देशनमा फिल्म निर्माण भएको थियो । अब पाँच दशकपछि पुनः यही नाममा नयाँ फिल्म दर्शकमाझ आउन लागेको हो ।

Leave a Reply