हिरालाई पनि सहयोग गर्दै अञ्जिाला टिमले मनायो ५१औँ दिनको सफलता : एन्जिललाई चाँडै घर दिने

काठमाडौं – नेपाली महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औं दिनमा भव्य कार्यक्रमको आयोजना गर्दै ऐतिहासिक सफलता साटासाट गरेको छ। 

 

शुक्रवार साँझ हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित कार्यक्रममा फिल्म टिम, प्रदर्शक हलहरू, पत्रकार, सुरक्षाकर्मी र शुभचिन्तकहरूको उपस्थिति थियो। सशस्त्र प्रहरीका सांस्कृतिक समूहले विभिन्न प्रस्तुति दिए भने गायक थानेश्वर गौतमले ‘रात किन हुन्छु’ प्रत्यक्ष प्रस्तुत गरे। विदेशमा भएका कारण फिल्मकी मुख्य पात्र एन्जिला भने उपस्थित भएकी थिईनन । कार्यक्रममा एन्जिलाको साथी समेत भएर फिल्ममा अभिनय गरेकी खेलाडी हिरा कुमारी भुजेललाई स्वास्थ्य उपचारका लागि ५१ हजार रुपैयाँ प्रदान गर्दै सहयोग पनि गरियो । 

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत विशिष्ट अतिथिहरूले टिम र हलहरूलाई सम्मानपत्र प्रदान गरे। निर्देशक मिलन चाम्सले १० करोडभन्दा बढी ग्रस आम्दानीसहित ‘अञ्जिला’ नेपाली बायोपिक फिल्मको इतिहासमै सफलतम बन्न पुगेको बताए। एन्जिलालाई घर दिने बाचा गरेका निर्माता प्रेम कुमार श्रेष्ठले एन्जिलाको लागि नयाँ घर खोजी गरिरहेको बताए । उनले भनेका छन ‘खास एन्जिलाको रोजाईमै घर दिन खोजेको हो उसले पनि हेर्दै छ हामी पनि हेरिरहेका छौँ । सोचे जस्तो भेटिना साथ हामी दिनेछौँ ।’  न्यूज फिल्मीसँगको कुराकानीका क्रममा उनले भनेका छन । 

एन्जिलाले आफैं मुख्य भूमिका निर्वाह गरेको फिल्ममा , दयाहाङ राई, सुनिल थापा, विजय बराल सृजना सुब्बा लगायत कलाकारको अभिनय छ। गत वर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले देशभरका ४५ शोहरूसहित ५१ दिन मनाएको हो ।