काठमाण्डौँ । जुन सुकै परिस्थितीमा आएपनि दसैँको फूलपातिमै प्रर्दशन गर्ने भनेर दावी गरिरहेका निर्माता रोहित अधिकारीले आफ्नो नयाँ फिल्म माइतीघरको छायाँकन आजबाट बल्ल सुरु गरेका छन ।
आगामी असोज १३ गते फूलपाति पर्दछ । उक्त मितिमा सन्तोष सेनको बलिदान लाग्ने निश्चित छ जसको पोष्ट प्रोडक्सनको कार्य मध्य चरणमा छ । उता हाल सम्म सुटिङमा नहिडेको जारी -२ को टिमले पनि फूलपातिमै आउने भनेर जाल फ्याकिसकेको अवस्था छ । अर्को पोष्टप्रोडक्सन सकेर फिनिसिङको क्रममा रहेको हरिबहादुरको जुत्ताको टिमले पनि खुट्टा उचालेर फुलपातिमै आउँने तयारी गरेको छ ।
तसर्थ आज बैशाख १८ गतेको दिन देखि आगामी असोज १३ गते फूलपाति सम्मको दिन गन्ने हो भने अब १ सय ५३ दिनको काउन्टडाउन हुन्छ । यो अवधिमा चार महिना २७ दिनको समय सिमा छ । तसर्थ ठूलो टिमसाथ फ्लोरमा निस्किएको माइतीघर टिमले समयमै सुटिङ सक्नु पर्ने चुनौति छ । किन कि पछिल्लो समय ठूला व्यानरका फिल्महरुको सुटिङ निर्धारित समयमा सकिरहेको छैन । उदाहरणका रुपमा जेरी अन टप, बलिदान, ऊनको स्वीटर सहित केही अन्य फिल्महरु छन । तसर्थ माइतीघर टिमले छायाँकनका लागि छुट्याएको ४० दिनमा सोचेअनुरुप सुटिङ सकेमा माइतीघरलाई फुलपातिमा आउँन अप्ठयारो पर्ने छैन । निर्माता अधिकारीका अनुसार, २० दिन ताकम र धारपानी र बाँकी २० दिन दरबाङको तातोपानी क्षेत्रमा सुटिङ हुनेछ ।

मिलन तामाङको निर्देशनमा फ्लोरमा निस्किएको माइतीघरमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुले मुख्य भूमिका निर्वाह गर्दैछन ।
विहिवार विहान म्याग्दीको ताकम गाउँका गाउँलेहरुले बाजा बजाएर स्वागत गर्दै कलाकारहरुलाई शुभसाइत स्थल गणेश मन्दिर पुर्याएका थिए । फिल्मको शुभसाइतमा धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन प्रमुख अतिथी थिए । उनले, पहिलो पटक गाउँमा फिल्मको छायांकन हुन लागेको भन्दै खुशी व्यक्त गरे । यो फिल्मबाट गाउँको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष पुनको छ ।
शुभसाइत समारोहमा वडा नम्बर ७ का अध्यक्ष अशोक खत्रीले नरिवल फोडेका थिए । उनले पनि फिल्मको माध्यबाट उचित प्रसारप्रसार हुन सकेको खण्डमा गाउँको विकास हुने बताए ।
News Filmy Newsportal / Nepal