बनेपामा बन्ने स्टूडियोको लागि चलचित्र बिकास बोर्डद्धारा टेन्डर आह्वान

काठमाडौं । चलचित्र विकास बोर्डले काभ्रेको बनेपामा बनाउन लागेको इनडोर स्टूडियो निर्माणका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको छ। आइतबार सूचना प्रकाशित गर्दै बोर्डले इच्छुक कम्पनीहरूलाई ३० दिनभित्र अनलाइनमार्फत आवेदन दिन आग्रह  गरेको हो ।

बोर्ड अध्यक्ष दिनेश डीसीका अनुसार २ महिनाभित्र स्टूडियोको शिलान्यास गर्ने योजना रहेको छ।  यस परियोजनाले स्वदेशी फिल्म उद्योगलाई अत्याधुनिक प्रविधिसहितको छायांकन स्थल उपलब्ध गराउने लक्ष्य राखेको छ।

नेपालमा केही निजी स्टुडियोहरू भए पनि फिल्म क्षेत्रको आफ्नै आधिकारिक स्टुडियो थिएन। ४२ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको यो स्टूडियो करिब ३९ करोडको लागतमा  बन्नेछ । बोर्डका अनुसार नेपालकै सवै भन्दा ठूलो ईन्डोर स्टूडियोको रुपमा यो  स्टूडियो परिचित हुनेछ । 

 

गत असार २८ गतेको मन्त्रिपरिषद् बैठकले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका स्थित वडा नम्बर १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा स्टूडियो निर्माणका लागि २ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिएको थियो । तसपश्चात भदौ २१ गते बोर्ड अध्यक्ष डीसी, सदस्यसचिव राजेशकुमार थापा, बनेपा नगरपालिका वडा नम्बर १० र १३ का वडाध्यक्षहरू तथा स्थानीय प्रतिनिधिहरूले स्टुडियो बन्ने स्थानको अवलोकन भ्रमण गरेका थिए।

सार्वजनिक बोलपत्र सम्बन्धी विस्तृत जानकारी बोर्डको वेबसाइट www.fdbnepal.gov.np र सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp मा उपलब्ध गराइएको छ। बोलपत्रका लागि २५ लाख रुपैयाँको सुरक्षा रकम तोकिएको छ भने, आवेदन दस्तुर ५ हजार रुपैयाँ राखिएको छ।