काठमाण्डौँ । गत पुष ४ गते देखि मण्डला नाटक घरमा मञ्चन भएकाे नाटक ‘हरि हजुरबा’ सफलतापूर्वक समापन भएकाे छ।
विजय बराल र नाजिर हुसेन मुख्य भूमिकामा रहेकाे नाटक प्रिमियर शो सहित २८ पटक मञ्चन भएकाे थियाे, जसमा ४ हजार ३ सय ९ जना दर्शकले नाटक हेरेका थिए।
नाटकका निर्माता समेत रहेका अभिनेता दयाहाङ राईले न्यूज फिल्मीलाई दिएको जानकारी मण्डला नाटक घरमा मञ्चन भएका केही हिट नाटकहरु जस्तै यो नाटक पनि सफल रह्यो । प्रिमियर शो बाहेक २७ पटक मञ्चन भएको प्रत्येक शो हाउसफूल थिए जसमा ४ हजार ३ सय ९ जनाले नाटक अवलोकन गरेको दयाहाङको भनाई छ ।
४ हजार दर्शकले यो नाटक हेर्दा मण्डलाको बक्स अफिसमा करिब २२ लाख बराबरको टिकट सेल्स भएको रिपोर्ट छ । रेगुलर तर्फ ५ सय रुपैयाँ, विद्यार्थी दर्शकलाई ३ सय मात्र (हरेक शोमा न्यूनतम ३५ जनालाई छुट दिदा ) र स्पेशल भिआईपी सिटमा १ हजार पर्ने टिकटमा हरि हजुरबा देखाईएको थियो ।
हाल सम्म मण्डलामा मञ्चन भएको नाटक मध्ये ‘खुवालुङ ढुंगाको बाटो‘, को व्यापार ज्यादा भएको रिपोर्ट छ तर उक्त नाटकको हरि हजुरबा भन्दा केही बढी पटक मञ्चन भएको थियो । तसर्थ दयाहाङ भन्छन ‘हाम्रो नजरमा उस्तै हो रिजल्ट हो दुई नाटकको।
२०७९ सालमा श्रावणमा मञ्चन भएको खुवालुङले करिब २७ लाख बराबरको व्यापार गरेको थियो । यो बाहेक नाटक ‘मासिन्या’ र ‘चोरको स्वर’मा पनि दर्शकको उच्च चाप र व्यापार भएको हिष्ट्री मण्डलाको बक्स अफिसमा छ ।
अभिनेता नाजिर हुसेनको अभिनय सहित परिकल्पना , लेखन तथा निर्देशनमा बनेको हरि हजुरबा हेर्न फिल्म नगरीका चर्चित फिल्मकर्मीहरु देखि लिएर स्कूल कलेजका विद्यार्थी एवं व्यापारीहरु सम्मको उपस्थिती रहेको थियो । आजको अन्तिम शो हेर्न क्यू .एफ. एक्स. सिनेमाजका प्रमुख नकिम उद्धीनको परिवार पनि पुगेको थियो ।
द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइ उजागर गर्ने यो नाटकमा नाजिर र विजयका अलवा, रियुल्साङ, सविना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहेको थियो ।
दिईएको जानकारी अनुसार मण्डलामा नाटक घरमा माघ ४ गते देखि २७ गते सम्म अर्को नाटक मुक्कुमुलुङ मञ्चन हुनेछ जसलाई अनिल सुब्बाको परिकल्पना तथा निर्देशनमा तयार गरिदैछ ।