काठमाडौं। निर्माता तथा निर्देशक सन्तोष सेनको आगामी प्रोजेक्ट ‘बलिदान’को सेट डिजाइनको काम सुरु भएको छ। यस सेनले फिल्मको कथामा आउने देश काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतीका बिच काम सुरु भएको बताएका छन्।
नेपालका तराई क्षेत्रका रैथाने कला, संस्कृति र भूगोलसँग चलचित्रको कथाको परस्पर सम्बन्ध जोड्नुपर्ने र विश्व बजारमा देखाउनुपर्ने भएकाले व्यापक तयारीको आवश्यक रहेको सेनले बताए। सो तयारीका लागि पूर्वी नेपालको इटहरीमा रहेको बिएमसी छायाङ्कन स्टुडियोमा भव्य सेट तयार भइरहेको छ। सो स्टुडियोको उद्घाटन नै बलिदानबाट हुँदै छ।
यो कार्यलाई निर्देशक सेनले ‘बलिदानको महत्त्वपूर्ण प्रकरण’ भनेका छन्। “बलिदानका विभिन्न प्रकरणहरू छिचोल्दै अघि बढ्ने यात्रामा छौँ। अबको प्रकरण बलिदानको कथा संसारमा आउने देश काल, परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौती हो। लामो मेहनत, त्याग र तपस्याले सिर्जेको बलिदानको संसारलाई नेपालका तराई क्षेत्रका रैथाने कला, संस्कृति र भूगोलसँग जोड्नुपर्ने छ र विश्व बजारमा देखाउनुपर्ने छ” सेनले भने, “फिल्म निर्माणको उचाइ बढाउन यो बिएमसी स्टुडियोको ठुलो भूमिका हुनेछ।”
‘बलिदान’बाट प्रमुख अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्दै छन्। समीर नेपाली चलचित्रमा एक्सन हिरोको रूपमा प्रख्यात बिराज भट्टका छोरा हुन्।उनले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए ।
News Filmy Newsportal / Nepal