ईन्डक्ल्यापसँगै एन्जिलालाई स्कूटर उपहार

काठमाडौँ। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म अन्जिलाको सुटिङ ईन्डक्ल्याप भएको छ ।

 

सुटिङको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा कथा पात्र एन्जिला तुम्बापो सुब्बाको अन्तिम शट लिईयो । शनिबार फिल्मको छायाङ्कन सकेर एन्जिला इन्डियन वुमन्स लिग (आईडब्लुएल) खेल्न आइतबार त्यसतर्फ जाने तयारीमा छन् । छायाङ्कन सकिएपछि एन्जिलालाई लिगमा विजयीको शुभकामना सहित म्याजिक फूटवेयर र फिल्मका सह-निर्माता विनोद अग्रवालले स्कूटर उपहार प्रदान गरेका हुन । एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा शुभमुहुर्त गरी छायाङ्कन सुरु भएको थियो । इलाम, झापा र काठमाडौँमा यस फिल्मको छायाङ्कन भएको छ ।


मिलन चाम्स निर्देशित यो फिल्ममा एन्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनीसँगै यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मन्जु श्रेष्ठ, बेदना राई,  सिध्दार्थ  सिंह, सुरज तमु, सुमिन गुरुङ, बिष्णु मोक्तान लगायतको पनि अभिनय रहनेछ । यस फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठको पनि यस चलचित्रमा प्रमुख भूमिका रहेको छ । श्रेष्ठले वास्तविक जीवनकै भूमिका निभाएका छन् ।

झन्डै दुई वर्ष अघि घोषणा गरी अहिले छायाङ्कन भएको यो फिल्मकी कथा पात्र  एन्जिला तुम्बापोको खेल जीवनको व्यस्त तालिकाका कारण निकै ढिलो छायाङ्कन गरिएको हो । ‘ईन्ड क्ल्याप’सँगै निर्देशक चाम्सले उपयुक्त मिति हेरी रिलिज गरिने बताए । उनले अत्यन्तै उत्साहका साथ छायाङ्कन भएको र आफ्नो निर्देशन करियरमा यो फिल्मले फरक प्रकारको छाप छोड्ने दाबी गरे ।