रामबाबुको हल्ला एउटा तर दर्ता अर्कै

अनुप भट्टराई

काठमाण्डौं ।  कबड्डी सिरिजका निर्देशक रामबाबु गुरुङको कम्पनी बासुरी फिल्मसले जोइन्ट भेन्चरमा बनाउन लागेको नयाँ फिल्मको हल्ला एउटा भएता पनि भित्री कुरो अर्कै रहेको पाईएको छ ।

दुई दिन अघि निर्देशक दीपक रौनियारसँग मिलेर नयाँ फिल्म राजागञ्ज बनाउने हल्ला तिब्र गरिएता पनि चलचित्र बिकास बोर्डमा देखिएको दर्ताले राजागञ्जको आधिकारिकता अर्कै देखाउछ ।
न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार बोर्डमा दर्ता गरिएको डकुमेन्टमा फिल्मको नाम राजागञ्ज नभई ‘द स्काई ईज माईन’ ( The Sky Is Mine )  भनी उल्लेख गरिएको छ । झट्ट सुन्दा यो टाइटल २०१९ मा भारतमा रिलिज भएको प्रियंका चोपडा र फरन अख्तरको फिल्म द स्काई ईज पिंक सँग करिव- करिव मिल्दो जुल्दो देखिन्छ ।

यो बिषयमा हामीले रामबाबु गुरुङलाई प्रश्न गर्दा उनले बोर्डमा त्यो टाइटल दर्ता भएता पनि कल साइनका रुपमा राजागञ्ज भनेर अघि बढाईने बताएका छन । यसका लागि यूनिटले पछि थप प्रोसेस गर्लान नि भनेर उनले जवाफ फर्काएका छन ।

श्रावण पहिलो हप्ता देखि छायाँकनमा जाने भनिएको रामबाबुको उक्त फिल्ममा अन्य आधिकारिकता भने यथावद देखिएको छ । निर्देशक दीपक रौनियार नै छन भने कलाकारमा दयाहाङ राई , निकिता चाण्डक, आशा मगराती लगायतको नाम उल्लेख छ ।