बिकास बोर्डको बार्षिकोत्सवमा नवल खड्काको काँडेतारलाई दश लाख पुरस्कार

अनुप भट्टराई

चलचित्र बिकास बोर्डको २३औँ बार्षिकोत्सवको अवसरमा नवल खड्काले बनाएको फिल्म काँडेतारलाई दश लाख पुरस्कार प्रदान गरिएको छ ।

स्टोरी बैंकको अवधारणा अनुरुप एक बर्ष अघि स्क्रिप्ट बुझाएर बोर्डको नजरमा परेको उक्त फिल्मले प्रोत्साहन स्वरुप दश लाख रुपैयाँ प्राप्त गरेको हो । यो प्रोत्साहन पुरस्कार सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा, चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी ,अभिनेता शिव श्रेष्ठ, अभिनेत्री भुवन चन्द लगायतलाई साक्षी राखेर प्रदान गरिएको हो ।

 

 

केही बर्ष अघि बोर्डले स्टोरी बैंकको अवधराणा ल्याएसँगै राष्ट्र र राष्ट्रियता सम्बन्धी फिल्म बनाउँने कुन एक फिल्मलाई बर्षेनि यसरी प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने नीति अघि सारेको थियो जस अनुरुप नवलको कम्पनी सामना फिल्मसले यो बर्ष स्टोरी बैंक मार्फत पुरस्कार पाएको हो ।

कार्यक्रममा विभिन्न लघु चलचित्र बनाउने फिल्मकेरहरुलाई पनि प्रोत्साहन स्वरुप नगद सहित पुरस्कार वितरण गरिएको थियो भने चलचित्र बिकास बोर्डको तर्फबाट सहायक अधिकृत सिता कुमारी ढुंगेललाई सर्वोत्कृष्ट कर्मचारी घोषित गर्दै नगद २५ हजार र उत्कृष्ट कर्मचारीका रुपमा हरिसिह रैखेलालाई तथा कार्यालय सहयोगी गंगा थापालाई १५ हजार नगद राशि सहित पुरस्कृत गरिएको थियो

साढेँ १७ करोडको बजेट प्रस्ताव

यसैगरी बोर्डले फिल्म क्षेत्रको बृत्ति बिकासका लागि सूचना तथा सञ्चार मन्त्रालय समक्ष साढें १७ करोड बराबरको बजेट प्रस्ताव गरेको जानकारी पनि दिएको छ । विभिन्न शिर्षकमा नवनियुक्त बोर्ड सदस्य सचिव विशाल सापकोटाले आज मन्त्री रेखा शर्मा समक्ष बोर्डको बजेट प्रस्तुत गरि उक्त बजेट पास गर्नका लागि अनुरोध समेत गरे ।