ओम प्रतीकको निर्देशनमा बन्यो ‘सिसा’ काठमाडौँ ।

सामाजिक कथामा धारावाहिक टेलिश्रृंखला ‘सिसा’ निर्माण भएको छ । शनिबार एक पत्रकार भेटघाट कार्यक्रम गर्दै निर्माण युनिटले टेलिश्रृखलाको विभिन्न जानकारी दिएको हो । ओम प्रतीकको निर्देशन रहेको टेलिश्रृंखला नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) बाट प्रत्येक शनिबार राति ८ः४५ नियमित प्रसारण हुनेछ । अहिले निर्माण भई रहेका अन्य टेली सिरियल भन्दा ‘सिसा’ ले उठाउने विषयवस्तु र निर्माण शैली बेग्लै रहेको निर्देशक ओम प्रतिकले बताए । ‘सिसा’का कार्यकारी निर्माता शैलेन्द्र चौलागाईं , नेपाल नेटवर्क टेलिभिजनका प्रबन्ध निर्देशक श्याम धिताल, शृङ्खला निर्देशक कुमार महर्जनले टेलिश्रृंखलाको विभिन्न पक्षबारे जानकारी दिएका थिए । टेलिश्रृखलामा निर्देशक प्रतीकसँगै नवीन श्रेष्ठ, अमिषा बस्नेत, अनुपमा भण्डारी, रवि कार्कीं, निक्स शर्मा, शुसिल देवकोटा लगायतको अभिनय रहेको छ । समाजका हरेक घटनाहरू सिसा जस्तै पारदर्शी किन हुँदैनन् ? भन्ने मुख्य प्रश्न यो टेलिश्रृंखलामा उठाइएको छ । डिएआर मुभिज एण्ड फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण गरिएको टेलिश्रृंखला सिसामा पटकथा तथा संवाद निर्देशक र शुसिल देवकोटाको रहेको छ भने सुरेश बज्राचार्यले यसको छायाङ्कन गरेका छन् । नवीन भट्टको सम्पादन रहेको टेलिश्रृंखलामा ब्याकराउण्ड स्कोर सम्राट थापा र कुमार महर्जनको थ्रील रहेको छ ।