जितु नेपालको फिल्म ‘आइ एम जीत बहादुर’ असार ५ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौं । अभिनेता जितु नेपालले निर्माण गरेको फिल्म ‘आइ एम जीत बहादुर’ को प्रदर्शन मिति तय गरिएको छ । फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्म आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने जानकारी दिएको हो । यसअघि सार्वजनिक गरिएको टिजरले युट्युबमा दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको थियो ।

भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको फिल्मले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्छ । फिल्ममा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीका रूपमा वर्षा राउत देखिएकी छन् ।

फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल लगायत कलाकारहरूको पनि अभिनय रहेको छ । कलाकारहरूको यस्तो संयोजनले फिल्मप्रति दर्शकको उत्साह बढ्ने निर्माण टिमको विश्वास छ ।

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा जोडिएका छन् । भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको फिल्मको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ ।

सुभेन्दु घोषकै कथा तथा निर्देशनमा बनेको ‘आइ एम जीत बहादुर’ को वितरण आरआर फिल्म्सले गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ । अभिनेता जितु नेपालले तीन दशकभन्दा बढीको कलाकारिता यात्रामा दर्जनौँ फिल्म तथा टेलिचलचित्रमा अभिनय गरिसकेका छन् ।

Leave a Reply