काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर निर्देशक तुलसी घिमिरेको फिल्म ‘पहाड’ आज (वैशाख १) देखि देशभर प्रदर्शनमा आएको छ।
बेरोजगारी, पानीको अभाव र मानवविहीन बन्दै गइरहेका गाउँ–पहाडको यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको यस फिल्मले समसामयिक नेपाली समाजको कथा प्रस्तुत गरेको निर्देशक घिमिरेले बताएका छन्।
उनका अनुसार, “पहाड केवल सुन्दरता मात्र होइन, अहिले विस्तारै रित्तिँदै गएको यथार्थ पनि हो। हामीले फिल्ममार्फत त्यही पीडा र अवस्थालाई देखाउने प्रयास गरेका छौँ। कथा पहाडमा सेट भए पनि यसको सन्देश समग्र देशसँग जोडिएको छ।”
नयाँ वर्षको अवसरमा फिल्म टिमले काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम पनि तय गरिएको छ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीलगायत कलाकारको अभिनय रहेको छ भने नवअभिनेत्री पञ्चमी घिमिरेले यसै फिल्मबाट डेब्यु गरेकी छन्।
निर्देशक घिमिरेले यसअघि चर्चित फिल्म बलिदान र चिनो मा सहकार्य गरेका कलाकारहरूलाई पनि ‘पहाड’ मा समेटेका छन्।
फिल्मको छायांकन प्रमोद प्रधानले गरेका हुन्। भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको यस फिल्ममा निर्देशककी छोरी पञ्चमी घिमिरे अभिनेत्रीका रूपमा प्रस्तुत भएकी छन् भने भावना घिमिरेले प्रोडक्सन डिजाइन सम्हालेकी छन्।
संगीत निर्देशन रञ्जित सिंह गजमेरको रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन्। फिल्मका प्रस्तुतकर्ता उत्तम रसाइली हुन्।
फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछन्।
News Filmy Newsportal / Nepal