कान्समा नेपाली फिल्मको ऐतिहासिक प्रवेश, ‘एलिफेन्ट्स् इन द फग्’ छनोट

काठमाडौं।  नेपाली कथानक फिल्म ‘एलिफेन्ट्स् इन द फग्’ विश्वप्रसिद्ध ७९औँ कान्स फिल्म महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको छ । यससँगै नेपाली फिल्मले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक उपस्थिति जनाएको निर्माण पक्षले जनाएको छ ।

अविनाश विक्रम शाहद्वारा लिखित तथा निर्देशित फिल्म अण्डरग्राउण्ड टकिज नेपाल र जयन्ती क्रिएसन्सको सहकार्यमा निर्माण भएको हो । फिल्ममा फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण कम्पनीहरूको समेत सहकार्य रहेको छ ।

फिल्मले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने एक परिवारको कथा प्रस्तुत गर्छ । फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ, शान्ति गिरी, संजय गुप्ता दुरा, महिमा नवबाग, आशान्त शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक शाहले यसअघि लघु फिल्म ‘लोरी’बाट कान्समा पुरस्कार जितिसकेका छन् । ‘एलिफेन्ट्स् इन द फग्’ उनको पहिलो फुल–लेन्थ फिल्म हो ।

यस वर्षको कान्स फिल्म महोत्सव मे १२ देखि सुरु हुनेछ ।

Leave a Reply