चैत २७ बाट ‘सेतो धरती’ मञ्चन, रेखा थापा निर्माता

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको नाटक ‘सेतो धरती’ आगामी चैत २७ गतेदेखि मञ्चन हुने भएको छ ।

मदन पुरस्कार विजेता अमर न्यौपानेको चर्चित उपन्यासमा आधारित यस नाटकमा अभिनेत्री बेनिशा हमालले पहिलोपटक रंगमञ्चमा डेब्यू गर्दैछिन् । यसबारेको जानकारी यसअघि नै सार्वजनिक भइसकेको थियो ।

अहिले भने नाटकमा निर्माता रूपमा अभिनेत्री रेखा थापा जोडिएसँगै दर्शकको चासो अझ बढेको छ । एकेडेमीले सार्वजनिक गरेको पोस्टरमा लेखक अमर न्यौपाने, निर्माता रेखा थापा र निर्देशक सुन्दर धितालको नाम उल्लेख गरिएको छ ।

निर्देशक धितालले यसअघि रेखा थापाकै डेब्यू नाटक ‘मीरा’ निर्देशन गरेका थिए । रेखाले पनि कान्तिपुर फिल्म एकेडेमीकै थिएटरबाट रंगमञ्च यात्रा सुरु गरेकी थिइन् ।
हाल धमाधम रिहर्सल भइरहेको नाटकमा बेनिशासहित फिल्म, थिएटर र एकेडेमीका गरी ३० भन्दा बढी कलाकार एकैपटक मञ्चमा देखिनेछन् ।

नेपाली साहित्यको अत्यन्त लोकप्रिय तथा सर्वाधिक बिक्री भएको कृतिमा आधारित भएकाले नाटकप्रति दर्शक र साहित्य क्षेत्रको अपेक्षा उच्च देखिएको छ ।

यसअघि कान्तिपुर थिएटरले दीपक सिंजालीको ‘मीरा’मा रेखा थापा र पारिजातको ‘शिरीषको फूल’मा जीवन लुइँटेललाई रंगमञ्चमा प्रस्तुत गरिसकेको छ । अब बेनिशा हमालको रंगमञ्च आगमनलाई पनि विशेष चासोका साथ हेरिएको छ ।

कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीका अनुसार रंगमञ्च, सिनेमा र साहित्यलाई जोड्ने उद्देश्यले चर्चित कृतिहरूलाई नाटकका रूपमा प्रस्तुत गर्दै आएको छ ।

नाटक ‘सेतो धरती’ चैत २७ गतेदेखि वैशाख १९ गतेसम्म मञ्चन हुनेछ । बुधबार बाहेक हरेक दिन साँझ ५:१५ बजे शो हुनेछ भने शनिबार, आइतबार र नयाँ वर्षको दिन दिउँसो १:१५ बजे पनि विशेष प्रदर्शन गरिने जनाइएको छ।

Leave a Reply