माघ १० मा भृकुटीमण्डपमा ‘कुमारी’को भव्य साङ्गीतिक कार्यक्रम, ट्रेलर पनि सार्वजनिक हुने

काठमाडौं । माघ २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित प्रेम कथानक चलचित्र ‘कुमारी’ले प्रचार प्रसारलाई आक्रामक र साङ्गीतिक बनाउँदै अघि बढाएको छ। निर्माण टोलीले देशका प्रमुख सहरहरूमा साङ्गीतिक कार्यक्रम गर्दै दर्शकसँग जोडिने रणनीति अपनाएको छ।

निर्माण टिमले आगामी माघ १० गते शनिवार साँझ ५ बजेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा एक भव्य साङ्गीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। सोही कार्यक्रमका बीच चलचित्रको बहुप्रतीक्षित अफिसियल ट्रेलर पनि सार्वजनिक गरिने बताइएको छ।

यसअघि माघ १ गते नेपालगन्जबाट सुरु भएको यो साङ्गीतिक यात्रा माघ ३ गते पोखराको लेकसाइड र माघ ६ गते चितवनको नारायणी तिर भव्य रूपमा सम्पन्न भइसकेको छ। हजारौँ दर्शकको उत्साहजनक सहभागिताले चलचित्रप्रति सर्वसाधारणको चासो बढाएको छ।

पोखरा र चितवनको सफलतापछि ‘कुमारी’ टोलीले संघीय राजधानीमा भृकुटीमण्डपको कार्यक्रमलाई अझ विशेष बनाउने योजना बनाएको छ। भृकुटीमण्डपमा आयोजना हुने कन्सर्टमा चलचित्रका पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ मुख्य प्रस्तुति दिनेछन्। साथै, लोकप्रिय महिला गायन समूह ‘इस्त्रीज’ले पनि आफ्ना गीतमार्फत दर्शकलाई झुमाउनेछ।

चलचित्रका कार्यकारी निर्माता केदार भुसालले कन्सर्ट पूर्णतया नि:शुल्क हुने जानकारी दिए। उनले सर्वसाधारण दर्शकलाई चलचित्रका कलाकार र सङ्गीतसँग जोड्ने उद्देश्यले कुनै प्रवेश शुल्क नराखिएको बताए।

ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका मुख्य कलाकार अविकेश खड्का र आकृति राजभण्डारी सहित निर्देशक दिनेश राउत, चलचित्रको पुरै युनिट, अन्य सेलिब्रेटी, पत्रकार र सर्वसाधारणको ठुलो उपस्थिति रहने बताइएको छ। निर्देशक राउतले मोफसलमा देखिएको दर्शकको अभूतपूर्व माया र क्रेजले आफूलाई उत्साहित बनाएको बताए।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेंद्र अधिकारी निर्मित तथा विकास सुवेदी लिखित चलचित्र ‘कुमारी’को साङ्गीतिक यात्रा काठमाडौंपछि माघ १७ गते झापाको दमकमा पुगेर समापन हुनेछ।

चलचित्रमा समावेश ‘डोको बुन्ने’ गीतले युट्युबमा करिब आधा करोड भ्युज पार गरेको छ भने लाखौँ टिकटक र रील्स बनेको छ। साथै, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ जस्ता गीतले पनि पहिले नै चर्चा कमाइसकेका कारण माघ १० मा सार्वजनिक हुने ट्रेलरप्रति दर्शकमाझ उत्सुकता थपिएको छ।

Leave a Reply