काठमाडौं । आगामी कार्तिक ७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मैझारो’ को टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले सोमबार बडादसैंको घटस्थापनाको अवसर पारेर १ मिनेट ५८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो।
सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम प्रस्तुत गरिएको छ। इलामको हरियाली चिया बगानदेखि गाउँले परिवेश समेटिएको टिजरमा धिरज र मिरुनाको प्रेमकथा देखिन्छ भने परिस्थितिको बाध्यताले धिरज दियासँग नजिकिएका संकेत मिल्छ।
फिल्मका निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा) प्रायः कमेडी भूमिकाका लागि चिनिएका भए पनि ‘मैझारो’ मा भने उनले मौलिक किराती प्रेमकथालाई केन्द्रमा राखेका छन्। टिजरमा देखाइएको कथावस्तु भावनात्मक र नेपालीपनमा आधारित रहेको छ, जसले राईलाई निर्देशकका रूपमा नयाँ परिचय दिलाउने अपेक्षा गरिएको छ।
राईकै कथामा बनेको फिल्ममा धिरज, मिरुना र दियासँगै दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुसहितका कलाकारको अभिनय छ।
तक्मे प्रोडक्सन को ब्यानरमा निर्माण भइरहेको फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ। गीतमा राजेशपायल राई, झुमा लिम्बु, मेलिना राई र अस्मिता अधिकारीलगायतका स्वर समावेश छन्। सौरभ लामाले छायांकन गरेको फिल्मको वितरण आरआर फिल्मले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।
News Filmy Newsportal / Nepal
